काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्छु भन्दै छाती पिट्नु र कपाल लुछ्नुको कुनै अर्थ नरहेको बताएका छन् ।
सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमतको नजिक रहेका दुई ठूला दलको सरकार कसैले चाहँदैमा नढल्ने बताएका हुन् । प्रचण्डलाई लक्षित गर्दै उनले भने सरकार ढल्छ भन्दै विलौना गाउनुको कुनै अर्थ नरहेको बताए ।
उनले भने- ‘म भन्न चाहन्छु, सबैले सुन्नेगरी–आजै ढल्छे, भरे नै ढल्छ, भोलि नै सरकार ढल्छ भन्ने यो छाती पिटाइ, यो कपाल लुछाई, आफ्नै छाती पिट्ने, आफ्नै कपाल लुछ्ने जुन चलिराखेको छ, यो विलौनाको केही पनि अर्थ छैन । झण्डै दुई तिहाइ बहुमतका दुईवटा पार्टीले संकल्प गरेका छन् । अब देशलाई यो प्रकारको खेलवाडबाट गुज्रिन दिन सकिँदैन । अब देशलाई स्थायित्व, स्थिरता दिएर विकसित देश बनाउन लाग्नुपर्छ ।'