काठमाडौँ । फिल्म ‘महाभोज’बाट अभिनेत्री मिरुना मगर अलग भएकी छन् । निर्देशक दिनेश राउतले मिरुनाको ठाउँमा गौमाया गुरुङलाई भित्र्याएर अहिले फिल्मको वर्कसप गरिरहेका छन् ।
फिल्मको मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, आर्यन सिग्देल, गौमाया गुरुङ, अञ्जना बराइली, मलिका महत वर्कसपमा सहभागी छन् । फिल्मका अर्का मुख्य अभिनेता दयाहाङ राई भने काम व्यस्तताले गर्दा वर्कसपमा नजोडिएको बताइएको छ । आगामी माघ १ गते मुहूर्त गरेर फिल्मको छायांकन सुरु गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
विकास सुवेदीको लेखन रहेको ‘महाभोज’मा अनुपविक्रम शाही, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतको पनि अभिनय रहनेछ । फिल्मको निर्माता हिमाल कडरिया हुन् । सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मलाई आगामी जेठमा रिलिज लक्ष्य राखिएको छ । यसअघि निर्देशक राउतको ‘पूजार सार्की’ पनि जेठमै रिलिज भएको थियो ।