• २०८१ पौष २६ शुक्रबार

बुटवलको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

kharibot

बुटवल  । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले बिहीबार रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित ४२ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

प्रहरीले पुराना २८ र नयाँ १४ गरी कुल ४२ जनाविरुद्ध मुद्दा चलाउने राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय रुपन्देहीमा बुझाएको छ ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि कात्तिक २७ मा रुपन्देही सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । यस्तै पूर्वडीआइजी जोशी पनि सोही बेला रुपन्देही पुगेर बयान दिएका थिए । 

प्रहरीको अनुसन्धान प्रतिवेदनमा रविको व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गरिएको छ । त्यसैगरी जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक  १ करोड ७७ लाख ८८ हजार गरी ४ कोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको प्रहरी स्रोतले खरीबोटलाई जानकारी दिएको छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङको व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी गरिएको छ ।

यसअघि लामिछाने गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । अहिले पूरक अभियोजनमा लामिछानेसहित ४४ प्रतिवादी बनाइएको छ ।

विहिबार मात्र लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । पोखरामा लामिछानेमाथि सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । जिल्ला अदालत कास्कीले लामिछानेलाई निर्दोष मान्न नसकिएको आदेशमा उल्लेख गरेपनि धरौटीमा रिहा गरेको थियो ।

अब उनी काठमाडौँ जिल्ला अदालतमा काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्धाको को प्रक्रियाका लागि आइतबार बिहान जिल्ला अदालत, काठमाडौंमा हाजिर हुन लागेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै