काठमाडौँ । अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’ को छायांकन सुरु गरिएको छ । मङ्गलबार इलामस्थित सानो पाथीभरा मन्दिरमा शुभसाइत गरेसँगै छायांकन थालिएको हो । ३१ दिनको तालिकामा इलाम तथा भोजपुरमा फिल्मको छायांकन हुनेछ ।
मन्दिर परिसरमै फिल्मका लागि पहिलो शट अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बू र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले दिए । फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको पनि अभिनय रहनेछ । छायांकनपूर्व दुई साता वर्कसप गरिएको थियो ।
वियोगान्त प्रेमकथामा बन्न लागेको फिल्ममा प्रकाशले भीमसेन पोखरेल र परीक्षाले दिलासा राईको भूमिका निभाउनेछन् । फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने निर्देशक सुवेदीले जानकारी दिएका छन् । यसअघि उनले ‘रंगेली’ निर्देशन गरेका थिए ।
सुशन प्रजापतिको छायांकन रहने ‘सोल्टिनी’मा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिएका छन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको फिल्मका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् । रेजिना बिस्ट र संसार चौलागाईँ रहेको फिल्मलाई २०८२ साल असोज ३ गते अर्थात् संविधान दिवसको दिन रिलिज गरिने जनाइएको छ ।