काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा देखिएका समस्या समाधान गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा देखिएका समस्या लामो समयदेखि समाधान हुन नसकेको अध्ययन गर्न उपसमिति गठन गरिएकोसमितिका सभापति राजकिशोर यादवले जानकारी दिएका हुन् ।
उपसमितिमा खनालसहित छिरिङल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल रहेका छन् । उपसमितिलाई समस्या र समाधानका उपाय सहित विस्तृत अध्यन गरेर प्रतिवेदन पेश गर्न एक महिनाको समय दिइएको छ ।
निगम पछिल्लो एक महिनादेखि अन्तरिक उडानविहीन भएको छ भने अन्तर्राष्ट्रिय उडान गर्ने दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी पनि आफ्नो क्षमता अनुसार चल्न सकेका छैनन् ।
समितिले बिहिबार बिहानको बैठकमा मन्त्री बद्री पाण्डेसँग समेत छलफल गरेको थियो ।