• २०८१ पौष २४ बुधबार

कस्तो छ फिल्म ‘कार्साङ’ को ट्रेलर ?

kharibot

काठमाडौं । फिल्म‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ ।

त्यसपछि ट्रेलरले मनको तीतो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ । रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाउँछ ।

अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा समेट्दै ट्रेलर अन्त्य हुन्छ । यो ट्रेलरले निर्दयी समाजले अभाव र दुःखमा बाँचिरहेको परिवारलाई कसरी भीरको फर्सी बनाउँछ त्यो देखाएको छ ।

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् । चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको दाबी छ ।

यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ । चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै