काठमाडौँ । बलिवुड फिल्म ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौडमा घाइते भएका ९ वर्षीया बालकलाई अभिनेता अल्लु अर्जुन मंगलबार अस्पताल पुगेर भेट गरेका छन् । श्रीतेज डिसेम्बर ४ देखि अस्पतालमा भर्ना छन् । दुर्घटनामा उनकी आमा रेवतीको मृत्यु भएको थियो ।
भारतीय मिडियाका अनुसार अल्लु अर्जुनले बच्चाका बुवा र डाक्टरलाई पनि भेटेका थिए । कडा प्रहरी सुरक्षाबीच बिहान अस्पताल पुगेका अभिनेता करिब आधा घण्टा अस्पतालमै बसेको रिपोर्टमा उल्लेख छ । उनीसँगै तेलंगाना राज्य फिल्म विकास निगमका अध्यक्ष दिल राजु पनि उपस्थित थिए । अल्लु अर्जुनले अहिलेसम्म पीडित परिवारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरिसकेका छ ।
अल्लु अर्जुनले घाइते बालकलाई भेट्नुअघि प्रहरीले अभिनेतालाई ५ जनवरीमा नोटिस पठाएको थियो । जसमा अल्लु अर्जुनलाई घाइते बालकलाई भेट्न केही नियम पालना गर्न निर्देशन दिदै बालकलाई भेट्न गएको खण्डमा उनको भेटघाट गोप्य राख्न आग्रह गरेको थियो ।
अल्लु अर्जुनको फिल्म पुष्प–२ डिसेम्बर ५ मा रिलिज भएको थियो । यसको प्रिमियर डिसेम्बर ४ मा सन्ध्या थिएटर, हैदरावादमा भएको थियो । अल्लु अर्जुनलाई बिना जानकारी फिल्मको प्रिमियरमा पुगेको आरोप छ । फ्यान अल्लु अर्जुनलाई भेट्न आतुर थिए । फ्यानहरूको ठूलो संख्या उनीसँग थिएटर प्रवेश गर्न खोज्यो र भागदौड मच्चिएको थियो ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले हल्का लाठीचार्ज गरेको थियो । भीड कम भएपछि श्वासप्रश्वासमा समस्या आएपछि बेहोस भएका मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको थियो ।
यस प्रकरणमा अल्लु अर्जुन १३ डिसेम्बरमा पक्राउ परेका थिए । पक्राउपछि उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको भएपनि तेलंगाना उच्च अदालतले उनलाई अन्तरिम जमानत दिएको थियो । करिब १८ घण्टाको कारागार बसाई पछि अल्लु अर्जुन डिसेम्बर १४ मा रिहा भएका थिए ।