काठमाडौँ । भारतको दिल्ली विधान सभाको निर्वाचन फेब्रुअरी ५ मा हुने भएको छ ।
भारतीय निर्वाचन आयोगले दिल्ली बिधान सभाको निर्णय फेब्रुअरी ५ मा गर्ने मंगलबार घोषणा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै निर्वाचनको मतगणना भने फेब्रुअरी ८ मा हुने भएको छ ।
७० सदस्यीय विधान सभामा हाल आम आदमी पार्टी बहुमतमा रहेको छ । यस अघि २०२० को फेब्रुअरी ८ मा भएको निर्वाचनमा आम आदमी पार्टीले ६२ सिट जितेको थियो । त्यस्तै भारतीय जनता पार्टीले ८ सिट जितेको थियो ।
गत बर्ष लोकसभा निर्वाचनमा सबै सिट भारतीय जनता पार्टीले जितेपछि यस पटक दिल्लीको निर्वाचन आम आदमी पार्टीका लागि पेचिलो बनेको छ । भ्रष्टाचार मुद्धामा आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालसहित शिर्ष नेतृत्व नै जेल गएर हाल जमानतमा रहेका बेला यस विधान सभा निर्वाचनलाई आम आदमी पार्टीको साखसँग जोडेर हेरिएको छ ।