काठमाडौं । सुडानी सेनाले राजधानी खार्तुममा रहेको राष्ट्रपति भवनमा कब्जा गरेको छ ।
बिबिसीका अनुसार राष्ट्रपति भवन कब्जा गरेपछि सैनिकहरू खुसीसाथ बन्दुक हल्लाइरहेको, नारा लगाउँदै र प्रार्थना गरिरहेको देखिएको छ ।
सुडानको र्यापिड सपोर्ट फोर्सलाई आररसएफ भनेर चिनिन्छ । आरएसएफले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
सेनाका प्रवक्ता नाबिल अब्दुल्लाहले सैन्य बलले मध्य खार्तुममा रहेको राष्ट्रपति भवन र मन्त्रालय भवनहरू कब्जा गरेको बताएका छन् । उनीहरुले लडाकु र उपकरणहरू पूर्ण रूपमा नष्ट गरेर ठूलो मात्रामा हतियार र उपकरणहरू कब्जा गरेको बताइएको छ ।
यसैबीच आरएसएफको ड्रोन आक्रमणबाट सुडानी सेनाका प्रवक्तासहित सुडान टिभीका तीन जनाको मृत्यु भएको छ ।
खार्तुम त्यो ठाउँ हो जहाँ दुई वर्षअघि सुडानको गृहयुद्ध सुरु भएको थियो र जहाँ केही ठूला लडाइँहरू लडिएका छन् । युद्ध सुरु भएदेखि नै, आरएसएफले राजधानी खार्तुम र पश्चिमी सुडानमा नियन्त्रण कायम राखेको छ ।
संयुक्त राष्ट्र संघका अनुसार यो युद्ध विश्वको सबैभन्दा ठूलो मानवीय संकट बनेको छ । यसमा सेना र आरएसएफ दुवैलाई मानवअधिकारको गम्भीर उल्लङ्घनको आरोप लगाइएको छ ।