• २०८१ चैत ९ शनिबार

किन बन्द भयो लन्डनस्थित हिथ्रो विमानस्थल ?

kharibot

काठमाडौँ । बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थल शुक्रबार एक दिनको लागि बन्द हुदा विश्वभरका उडानहरू प्रभावित भएका छन् ।

हिथ्रो विमानस्थल नजिकै रहेको विद्युतीय सबस्टेशनमा शुक्रबार आगलागी भएपछि बिजुली आपूर्ति बन्द हुदा विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था आएको थियो ।

यस घटनाले विमानस्थल जाने उडानहरू मात्र रद्द गरिएका छैनन्, अन्य धेरै विमानस्थलहरूबाट यहाँ आउने उडानहरू पनि रोकिएका छन् । यस ठाउँमा उडेका विमानहरूलाई नजिकैका अन्य ठाउँहरूमा डाइभर्ट गरिएको छ । अहिलेसम्म यहाँ अवतरण गर्ने तय भएका १३५० भन्दा बढी उडानहरू रद्द गरिएको बीबीसीले जनाएको छ ।

विमानस्थल सामान्य अवस्थामा आउन समय लाग्ने भएपनि शनिबारदेखि आंशिक उडान शुरु हुन सक्ने विमानस्थलले जनाएको बिबिसीले उल्लेख गरेको छ । 

हिथ्रो विमानस्थलमा भएको यो समस्याका कारण हजारौं यात्रु यहाँ र अन्य विमानस्थलहरूमा अलपत्र परेका छन् । सबस्टेशनमा आगलागी भएका कारण विमानस्थलको ब्याकअप जेनेरेटर सुरु हुन नसकेको बताइएको छ । यसका कारण विमानस्थलको टर्मिनल १ र २ साथै नजिकैका ५,००० घरहरूमा बिजुली आपूर्ति बन्द भएको थियो ।

आतंकवाद विरोधी प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ । तर, अहिलेसम्म प्रहरीले अनुसन्धानमा त्यस्तो कुनै संकेत फेला नपारेको रिपोर्टमा उल्लेख छ ।

शुक्रबार सबै उडानहरू रद्द गर्नुका साथै हिथ्रो विमानस्थलले आगामी दिनहरूमा पनि उडानहरूमा अवरोध आउन सक्ने बताएको छ । बीबीसीले सामान्य अवस्था पुनर्स्थापित गर्न ब्याकअप जेनेरेटरहरू खोलिएको भएपनि तिनीहरूले विमानस्थल पूर्ण सञ्चालन गर्न पर्याप्त बिजुली आपूर्ति गर्न नसकेको उल्लेख गरेको छ ।

अहिले हिथ्रो विमानस्थल नजिकैका होटल र पबहरू विमानस्थलमा अलपत्र परेका यात्रुहरूले भरिएका छन् । लन्डनका मेयर सादिक खानले विमानस्थल र वरपरका क्षेत्रहरूमा विद्युत आपूर्ति पुनर्स्थापित गर्न पूर्ण सतर्कताका साथ काम भइरहेको जानकारी दिएका छन् । 

बेलायतमा भएको यो घटनापछि उडानहरू म्यानचेस्टर, बर्मिंघम, कार्डिफ र ग्लासगोमा डाइभर्ट गरिएका थिए । बेलायत बाहिर, आयरल्याण्ड, जर्मनी, स्पेन, बेल्जियम, अमेरिका, नर्वे, डेनमार्क र आइसल्याण्डमा विमानहरू पठाइएको छ ।

हीथ्रो राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा एक प्रमुख केन्द्र भएकोले यात्रूसहित कार्गोमा पनि ठुलो असर प्[परेको बताइएको छ । अर्कोतर्फ मार्च महिना हिथ्रो विमानस्थल सबैभन्दा व्यस्त महिना भएकाले यस घटनाको असर अन्य महिनाको भन्दा ठुलो रहेको विश्लेषण गरिएको छ ।

२०१० पछि यो पहिलो पटक हीथ्रो विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ । २०१० मा, आइसल्याण्डिक ज्वालामुखी विस्फोटनले आकाशमा खरानी किलोमिटरसम्म फैलिएको कारणले युरोपभरि हजारौं उडानहरू ग्राउन्डेड भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै