काठमाडौँ । भारतका स्टार क्रिकेटर युजवेन्द्र चहल र कोरियोग्राफर- डान्सर धनश्री वर्माको सम्बन्ध विच्छेद भएको छ । बिहीबार, मुम्बईस्थित बान्द्रा पारिवारिक अदालतले सम्बन्ध विच्छेदलाई स्वीकृति दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
केही समयदेखि यी दुईबीच मतभेद भएको खबर आएको थियो। अब दुवै आधिकारिक रूपमा अलग भइसकेका छन् ।
दुवैको विवाह डिसेम्बर २०२० मा भएको थियो । चहल र धनश्रीको सम्बन्ध विच्छेदको बारेमा, चहलको प्रतिनिधित्व गर्ने वकिल नितिन कुमार गुप्ताले अदालतले सम्बन्ध विच्छेदको आदेशलाई अनुमोदन गरेको जानकारी दिएका छन् ।
दुवै जना पछिल्ला केही महिनादेखि छुट्टाछुट्टै बस्दै आएका थिए । दुवैले यसै वर्ष आपसी सहमतिमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएका थिए । यसका साथै उनले छ महिनाको अनिवार्य कुलिङ अवधि छुट दिन पनि माग गरेका थिए । तर, उनको निवेदन पारिवारिक अदालतले खारेज गरिदिएको थियो ।
अहिले सामाजिक सञ्जालमा चहलले अदालत जादा लगाएको टि-सर्टको चर्चा निकै भइरहेको छ । टी-शर्टमा लेखिएको छ - 'आफ्नो सुगर ड्याडी बन्नुहोस्'। यसको अर्थ आफ्नो आर्थिक जिम्मेवारी आफैं लिनु हो । कसैको उपहार वा सहयोगमा भर नपर्नुहोस् । सामाजिक सञ्जालमा यसबारे विभिन्न प्रकारका बहस भइरहेका छन् । फ्यानहरूले भने यो धनश्रीमाथि व्यंग्य गरेको रुपमा विश्लेषण गरिरहेका छन् । चहलले धनश्रीसँग सम्बन्ध बिच्छेद गर्न ४ करोड ७५ लाख भारु रकम लिएको चर्चा सामाजिक सञ्जालमा चलिरहेको छ तर यसको आधिकारिक पुष्टि भएको छैन ।