काठमाडौँ । अमेरिका बाहेक अन्य देशहरूले पनि रुस र युक्रेनबीच सीमित युद्धविरामको तयारी गरिरहेका छन् । युरोप र अन्य देशहरूले लन्डनको बाहिरी इलाकामा रहेको सैन्य मुख्यालयमा युक्रेनको लागि अन्तर्राष्ट्रिय शान्ति सेनाको योजनालाई अन्तिम रूप दिने बारेमा छलफल गरेका छन् ।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायत र फ्रान्सको नेतृत्वमा रहेको गठबन्धन योजना अगाडि बढिरहेको बताए । यद्यपि, कति देशहरू सेना पठाउन तयार छन् भन्ने कुरा अझै स्पष्ट छैन । अधिकारीहरूले १० हजारदेखि ३० हजार सेनाको संख्या उल्लेख गरेका छन् ।
बेलायत र फ्रान्सले सेना पठाउन तयार रहेको बताएका छन्। जबकि अष्ट्रेलिया, क्यानडा, फ्रान्स र फिनल्याण्ड लगायत धेरै देशहरूले युक्रेनलाई कुनै न कुनै रूपमा सहयोग गर्न तयार रहेको बताएका छन् । शनिबार भएको भिडियो बैठकमा म्याक्रोन, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, अष्ट्रेलिया, क्यानडा र न्यूजील्याण्डका नेताहरू र नेटो र ईयूका अधिकारीहरू सहित लगभग ३० नेताहरू सहभागी थिए ।
यसबारे रुसले युक्रेनी भूमिमा नेटो देशका कुनै पनि सैनिकलाई स्वीकार नगर्ने बताएको छ । युद्धविराम सम्झौता उल्लङ्घन भएमा अमेरिकाले रिजर्भ फायरपावरको ग्यारेन्टी दिने कुनै संकेत ट्रम्पले दिएका छैनन् । स्टारमरले भने अमेरिका बिना योजनाले काम नगर्ने बताउदै आएका छन् ।