काठमाडौँ । चर्चित गायक सुजन चापागाईंको अमेरिका टुर अनिश्चित बनेको छ । २०२५ को मार्चदेखि अमेरिकाको बिभिन्न राज्यका बिभिन्न शहरमा तय भएको हाम्रो सांगीतिक यात्रा 'आरोह अमेरिका टूर -सुजन चापागाईं एण्ड द ब्याण्ड' कार्यक्रम भिसा नपाएका कारण अनिश्चित बनेको हो ।
नेपालस्थित अमेरिकी राजदुतावासमा शुक्रबार भिसाको लागि भएको अन्तरवार्ताको क्रममा ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गरेकोले पुर्वनिर्धारित कार्यक्रमहरु प्रभावित बनेको गायक चापागाईंले जानकारी दिएका छन् ।
उनले भनेका छन्- 'लामो समय देखि नेपाली गीत संगीत मार्फत नेपाली दर्शक श्रोतालाई कसरि गुणस्तरीय सृजना प्रेषण गर्न सकिन्छ भनेर मिहेनत गरि रहेको कुरा दर्शक श्रोताहरुले बुझि दिनु भएकै छ । लगभग २ बर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाईभ जर्नी पुन शुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने जानकारी गराउंदै गर्दा नमिठो अनुभव पक्कै भएको छ । यो अनिश्चितताको कारण पर्न गएको असर प्रति सम्पुर्ण आयोजक, दर्शक तथा शुभचिन्तकप्रति क्षमा याचना गर्दछु ।'