• २०८१ फाल्गुण १० शनिबार

नेपाली विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिँदा समेत सरकारले म छु भन्न सकेन- सुमना श्रेष्ठ

kharibot

काठमाडौँ । रास्वपा सांसद एवम पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली विद्यार्थीको अभिभावकत्व सकिएको टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले भारतमा हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदा समेत सरकारले नडराऊ म छु भनेर भन्न नसकेको उल्लेख गर्दै मन्त्रीले समेत अपनत्व नलिएको आरोप लगाएकी छन् ।

उनले भनेकी छन्: 

सरकार भन्छ, मुद्दा सल्टियो । KIIT प्रशासन भन्छ, फिर्ता आऊ । विद्यार्थी भन्छन् - टेबल माथि सुताएर कुटेका छन्, कसरी जाऔँ ?

के हामी नेपाली त्यति साह्रो निरिह हो कि हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदा समेत सरकार 'नडराऊ म छु' - भनेर भन्न सक्दैन ?

हात काँप्दै बोलेका छन् हाम्रा विद्यार्थी प्रेस मिटिङ्मा।   

अर्काको देशमा पैसा तिरेर आफै पढ्न जाँदा हाम्रो छोरी, हाम्रो बहिनी, हाम्रो नातिनी मर्ने सम्मको स्थितिमा पुग्छिन् त अरू रेल्वे स्टेशनमा फालिन्छन् । हाम्रो सरकारले 'आइन्दा उसले त्यस्तो गर्दैन, फिर्ता जाऊ' भन्न सकेको कसरी ?

खै हाम्रा विद्यार्थीलाई नेपालमा नै फिर्ता आएमा यहाँ पढाई निरन्तर गर्ने अवसर? खै नेपाल फर्केका विद्यार्थीका लागि मनोसामाजिक परामर्श सेवा? खै शिक्षा मन्त्रीज्यू र स्वास्थ्य मन्त्रीज्यूको अपनत्व ? हामी कस्तो स्थितिमा आइपुगेका छौँ ? नेपालमा बसेर पढ्नेलाई पार्टीको भातृसङ्गठनमा लाग्न धम्की दिइन्छ। विद्यार्थी एउटै कोठामा बसेर डरले फोन गर्छन् ।

अस्पतालका डाक्टर आफ्ना सहायक प्राध्यापकको यातनाका कारण औषधी खाएर आत्महत्या गर्ने प्रयास गर्छन् । बाँकी डाक्टर भन्छन्, 'हामीलाई सुरक्षित महसुस गराई दिनुस् ।' 

नेपाल बाहिर एक जनाले आत्महत्या गरेको बारे न्याय माग गर्दा सबै नेपाली विद्यार्थी अपहेलित हुँदै कुटिन्छन्, लखेटिन्छन् । सदन केही नभएको जस्तो चल्छ, सदनमा बोल्न दिदैनन्, नेपाल सरकार उताको प्रशासनले भनेको कुरामा ढुक्क हुँदै बसेको छ, विद्यार्थीलाई एक्लै छोडी दियो, अभिभावकत्व सकियो ।

नेपाली विद्यार्थी न नेपालमा सुरक्षित छन् न नेपाल बाहिर ।  कहिलेसम्म आखिरी ? कहिलेसम्म चल्ने हो यस्तो नियत र यस्तो ओठे जवाफ ? कहिलेसम्म यस्ता दासत्व स्वीकार गर्ने हो नेपालीले ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै