काठमाडौँ । भारी हिमपात र खराब मौसमका कारण बेलायतमा यातायात नराम्ररी प्रभावित भएको छ । खराब मौसमले हवाई सेवा र रेल सेवालाई प्रत्यक्ष असर गरेको छ ।
बेलायतको नेशनल रेलवेले हवाई यात्रासँगै रेलमा यात्रा गर्ने यात्रुले पनि आज समस्या भोग्न सक्ने बताएको छ ।
दक्षिणी इङ्ल्यान्डमा भारी वर्षाको सम्भावना देखिएपछि फेरि पहेंलो चेतावनी जारी गरिएको छ । यसअघि वेल्सका अधिकांश भागमा पानी पर्ने चेतावनी दिइएको थियो । लिभरपुल जोन लेनन एयरपोर्टले अपडेट जारी गर्दै धावनमार्ग 'अस्थायी रूपमा बन्द' रहेको जनाएको छ, तर उनीहरू यसलाई खाली गर्न 'कडा मेहनत' गरिरहेका छन् ।
यसैबीच, म्यानचेस्टर विमानस्थलले 'विगत एक घण्टादेखि जारी भारी हिमपातका कारण' धावनमार्ग बन्द गरिएको जनाएको छ। तर, केही घण्टापछि विमानस्थल सञ्चालनमा आएको थियो ।
म्यानचेस्टर एयरपोर्टले एक विज्ञप्ति जारी गर्दै केही उडानहरू हिउँले गर्दा अवरुद्ध रहेको छ र रनवे हटाउने काम जारी रहेकाले उडान संचालन हुन ढिलाइ हुन सक्ने बताएको छ ।