• २०८१ पौष २१ आइतबार

बझाङमा दुई छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु

kharibot

बझाङ । बझाङमा शुक्रबार राति भएका भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब साढे ८ बजे तलकोट गाउँपालिकाबाट चैनपुरतिर आइरहेको से१ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका–१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, ७२ वर्षीया जोगेनीदेवी धामी र मृतक बमबहादुरकी छोरी पाँच वर्षीया आकृति धामी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालकसहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

यस्तै शुक्रबार राति नै करिब ९ बजे मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडातर्फ आउँदै गरेको सुपप्र-०१-००१ज १३९८ नम्बरको जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटनामा पर्दा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जानाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै