काठमाडौँ । अजरबैजानले रुसले आफ्नो विमान दुर्घटनामा जिम्मेवार व्यक्तिहरूको पहिचान गरी सजाय दिने आश्वासन दिएको बताएको छ । अजरबैजानले डिसेम्बर २५ मा कजाकस्तानमा क्र्यास ल्यान्डिङ गर्नुअघि रुसी वायु सुरक्षाले निशाना बनाएको बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार अजरबैजानका अभियोजक जनरलले एक विज्ञप्तिमा भनेका छन्, 'रसियाले बाकुलाई दोषीहरूको पहिचान गर्न र उनीहरूलाई आपराधिक सजायको दायरामा ल्याउन गम्भीर प्रयास भइरहेको छ' भन्ने जानकारी दिएको छ ।'
यस दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । दुर्घटनाको समयमा, अजरबैजान एयरलाइन्सको एम्ब्रेर विमान तीव्र गतिमा ओर्लिएको थियो र अक्ताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर टाढा आगलागी भएको थियो ।
दुई दिनअघि शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग विमान दुर्घटनाका लागि माफी मागेका थिए तर जिम्मेवारी भने लिएका थिएनन् ।
अलिएभले मस्कोले दुर्घटनामा आफ्नो संलग्नता लुकाएको आरोप लगाए । अलिएभले पुटिनको माफी स्वीकार गरे पनि उनले रुसले आफ्नो दोष स्वीकार गरी क्षतिपूर्ति दिनुपर्ने बताए ।
अजरबैजानको सरकार समर्थक वेबसाइटले विमानलाई रुसी मिसाइलले खसालेको दाबी गरेको थियो ।