• २०८१ बैशाख २४ सोमबार

सामाजिक सुरक्षा भत्तालगायतका परिचय पत्र भदौभित्रै नवीकरण गर्नुपर्ने

kharibot

काठमाडौं । वृद्ध भत्तालगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेले यस वर्षदेखि भदौभित्रै सम्बन्धित वडामा परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ । यसअघि कात्तिक मसान्तसम्म नवीकरण गरे हुनेमा अब भदौभित्रै नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको हो ।

तोकिएको समयमा परिचयपत्र नवीकरण नगरे सामाजिक सुरक्षा भत्ता रोकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विभागले सेवाग्राहीले वडा कार्यालयमा आफैं उपस्थित भई परिचयपत्र तथा केवाइसी नवीकरण गर्नुपर्ने उल्लेख गरेको छ ।

भदौभित्र परिचयपत्र नवीकरण नगरेका सेवाग्राहीको नाम स्वत: हटाइने छ । साउन र भदौ महिनाभित्र नवीकरण नगरेका लाभग्राहीले साउनदेखिको सामाजिक सुरक्षा भत्ता पाउन सक्ने छैनन् । हरेक तीन–तीन महिनामा भत्ता वितरण हुँदै आएको छ । भदौभित्र नवीकरण गर्न छुटेका लाभग्राहीले वडा कार्यालयमा गई फेरि नयाँ लाभग्राही सरह नाम दर्ता गराउनुपर्नेछ ।

हालसम्म ६५ प्रतिशत लाभग्राहीको मात्रै परिचयपत्र नवीकरण भएको छ । बाँकी लाभग्राहीलाई सम्बन्धित वडा कार्यालयमार्फत् खबर गर्न पनि विभागले पत्राचार गरेको छ । त्यसैगरी विभागले भत्ता पाउने नामावलीमा दोहोरिएका विवरण सच्याउन स्थानीय तहलाई परिपत्र गरेको छ । झण्डै दुई हजार नाम दोहोरिएको हुनसक्ने आंकलन छ ।

कुनै व्यक्तिले दोहोरो भत्ता बुझेमा कानूनी कारबाही हुने विभागले जनाएको छ । अहिले झण्डै ३८ लाख जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

निश्चित उमेर समूहका जेष्ठ नागरिक, एकल महिला, विपन्न, अशक्त र असहाय, अपांगता भएका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सरकारले भत्ता उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै