• २०८१ मङ्सिर ११ मंगलबार

सामाजिक सुरक्षाको बृहत्तर अवधारणालाई अघि बढाउन प्रतिबद्ध छौं- प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताएका छन् ।

सातौ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।   

प्रधानमन्त्रीको शुभकामना:

आज सातौ सामाजिक सुरक्षा दिवस । यस दिवसको अवसरमा ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म सबैमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

हामीले विधिवत् रुपमा सामाजिक सुरक्षा अभियानलाई भिन्नै र उन्नतस्तरबाट सुरु गरेका थियौं । सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास हो । त्यसैले यसभित्र हाम्रा अभिभाराहरु हामीले उपयुक्त ढंगले बुझ्न जरुरी छ । सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो । मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । यसका लामा इतिहास छन् । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार लिन थाल्यो ।

वि.सं. २०५१ सालमा नेकपा (एमाले) को सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लियो र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप लिन थाल्यो । त्यसले सामाजिक सुरक्षाको बहसलाई अगाडि बढायो । आज आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य संचालन र समाज संचालनको एउटा अभिन्न अंगका रुपमा बुझिरहेका छौं र तद्अनुसारको व्यवहार गरिरहेका छौं । हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर हामीले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको पनि सुरुवात गरेका छौं ।

हामीले यस चेतनाको स्तरोन्नतिलाई नयाँ युगको प्रारम्भ पनि भन्यौं । जहाँ कोही पनि व्यक्ति, समाजको कोही पनि सदस्य त्यही उन्नत, विकसित र आधुनिक मानव समाजमा सुरक्षा नपाई असुरक्षित र त्रसित भएर जीवनयापन गर्नु नपरोस्, कसैले पीडा भोग्न र जीवन गुमाउन नपरोस् । तसर्थः हामीले सामाजिक सुरक्षाको सुनिश्चिताको व्यवस्थाका प्रयासहरुलाई अगाडि बढायौं र हामीले यस सम्बन्धमा थुप्रै प्रयासहरु अगाडि बढाइरहेका छौं ।

सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले संचालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइन भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ ।

अहिलेको सरकार जनताको सरकार हो । सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार हो । सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार हो । देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको सरकार हो । सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिंदैन । यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु ।

हामीले हाम्रो संविधानको धारा ३४ मा श्रमसम्बन्धी मौलिक हकको व्यवस्था गरेका छौं । त्यस्तै संविधानको धारा ३४ (२) मा सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिहरु, अशक्त, वेसाहारा वा योगदानका आधारमा मात्रै होइन, योगदान नै गर्न नसक्ने अवस्थामा रहेका, गरिबीको चपेटामा परेका अथवा अभिभावको अभावमा अलपत्र परेका मानिसहरु र तिनीहरुको व्यवस्थाको सम्बन्धमा संविधानको धारा ४३ मा हामीले सामाजिक सुरक्षाको विशेष हकको व्यवस्था गरेका छौं । त्यसले हामीलाई निर्देश गरेको छ र त्यस निर्देशअनुसार हामीले सामाजिक सुरक्षासम्बन्धी हाम्रो अवधारणालाई व्यापक बनाउँदै गएका छौं । ती अवधारणा अनुसारका कार्ययोजनाहरु तयार गर्नु, तिनलाई नीति कार्यक्रम र बजेटहरुमा सामेल गर्नु आवश्यक छ र हामी त्यसलाई क्रमशः अगाडि बढाइरहेका छौं ।

अन्त्यमा, यस दिवसको सन्दर्भमा योगदानकर्ता, सबै राष्ट्रसेवक कर्मचारी, संघसंस्था तथा सबै दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक धन्यवाद भन्न चाहन्छु र आगामी दिनमा यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै