काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।
समुह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी-२० विश्वकपमा खेलेका थिए । पछिल्ला बर्षहरुमा आइसीसी प्रतियोगिता बाहेकका खेल नखेलेका भारत र पाकिस्तानबीचको क्रिकेट खेल बहुप्रतिक्षित हुने गदर्छ ।
प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने पाकिस्तान घरेलु मैदानमा न्यूजील्याण्डसँग हार बेहोरेर दबाबमा रहेको छ ।
यो खेल जितेमा भारत सेमिफाइनलमा पुग्ने हुनाले पनि उसका लागि महत्वपूर्ण खेल रहेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले हार बेहोरेमा प्रतियोगिताबाट नै बाहिरिने भएकाले जित्नैपर्ने दबाबका बीच खेल्दै छ ।
यस अघि २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।
पछिल्लो सिरिजहरुमा भारत र पाकिस्तानले एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । भारतले घरेलु मैदानमा इङल्याण्डविरुद्ध खेलेको सिरिज क्लीन स्वीप गरेको थियो भने पाकिस्तानले अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धका सिरिज जितेपछि घरेलु मैदानमा खेलेको त्रिकोणात्मक सिरिजको फाइनलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो ।
एकदिवसीय क्रिकेटमा दुवै टिम अहिलेसम्म १३५ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले धेरै खेल जितेको छ । पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।
भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तमा देशको मात्र खेल हुदैन, यो खेलाडी खेलाडीबीचको प्रतिद्वान्दिता पनि रोचक हुने गर्दछ ।
यस खेलमा पनि भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीबीचको खेल हेर्न लायक हुने छ । शाहीनले अहिलेसम्म रोहितलाई ४ खेलमा २ पटक आउट गरेका छन् । त्यस्तै रोहितले शाहीनविरुद्ध अहिलेसम्म केवल ५६ बल फेस गरेका छन् भने ४८ रन बनाएका छन् ।
त्यस्तै विराट कोहली र पाकिस्तानका लेग स्पीनर अबरार अहमदबीचको प्रतिष्पर्धा पनि रोचक हुने देखिन्छ । कोहली पछिल्ला खेलहरुमा लेग स्पीनरहरुसँग खेल्न संघर्ष गर्दै आएका छन् । यस्तो अवस्थामा अहमदले कोहलीलाई चुनौती दिनसक्छन् । २०२४ एता खेलेका ५ खेलमा कोहलीले केवल २१ रन बनाएका छन् र पाँचै पटक लेग स्पीनरबाट आउट भएका छन् ।
त्यस्तै पाकिस्तानका ब्याट्सम्यान बाबर आजम र भारतीय बलर मोहमद शामीबीचको प्रतिद्वान्दिता पनि यस खेलमा हेर्न लायक हुने छ । शामीले पहिलो खेलमा बंगलादेशविरुद्ध ५ विकेट लिदै एकदिवसीय क्रिकेटमा आफ्नो २०० विकेट पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा बाबर र शामीको पहिलो पटक आमने सामने हुदै छन् ।