काठमाडौँ । भारतले ओडिशाको भुवनेश्वरस्थित कालागंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा बोल्दै भारतले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकता दिने बताउदै घटना भएदेखि नै ओडिशा सरकार, किटका अधिकारीहरू र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
प्रवक्ता जैसवालले ओडिशा सरकार र किट संस्थानले घटनामा संलग्नलाई पक्राउ गर्ने र घटनाको छानबिन गर्न उच्चस्तरीय तथ्य समिति गठन गरेको बताउदै नेपाली विद्यार्थीलाई सहयोग गर्न २४ घण्टा हेल्पलाइनको समे व्यवस्था गरेको जानकारी दिएका छन् । ओडिशा सरकारले नेपाली विद्यार्थीहरूको फिर्ताको सुविधा दिइरहेको बताउदै उनीहरूको सुरक्षा र शैक्षिक सहभागितालाई सुनिश्चित गरिरहेको उनले बताए ।
भारत सरकार नेपाली अधिकारीहरू र ओडिशा सरकारसँग सम्पर्कमा अहिले पनि रहिरहेको उल्लेख गर्दै प्रवक्ता जैसवालले भारत सरकारले भारतमा रहेका नेपाली विद्यार्थीहरूलाई दुई देशबीचको सम्बन्धको एक महत्त्वपूर्ण भाग मानेको बताउदै उनले भारत सरकार उनीहरूको सुरक्षा र कल्याणको लागि सबै उपाय अपनाउन प्रतिबद्ध रहेको बताए ।