काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले शाहीले दिएको ‘राष्ट्रियसभा वृद्धाआश्रम भएको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताएपछि खेद प्रस्ताव पारित गरेपछि नयाँ विवाद शुरु भएको छ ।
आइतबारको राष्ट्रियसभाको शून्य समयमा सांसद नारायणदत्त मिश्रले शाहीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भनेका थिए, 'राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ। भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति गम्भीर आपत्ति छ ।'
सांसद जयन्तीदेवी राईले पनि शाहीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै राष्ट्रिय सभाको सम्मानमा आँच आउने कुरा गरेको आरोप लगाएकी थिइन् । उनले भनिन्, 'सांसद शाहीले राष्ट्रियसभालाई ‘वृद्धाआश्रम र केही दिनको पाहुना’ भनेर दिएको अभिव्यक्ति निन्दनीय छ ।'
राष्ट्रिय सभामा आफ्नो भनाईप्रति खेद प्रस्तावसहित यस्तो अभिव्यक्ति नदिन निर्देशन दिएपछि सांसद शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत भनेका छन्- चुनाव हारेका हरुवा चरुवा लाई भर्ती गर्ने केन्द्र राष्ट्रिय सभा बनाएपछि हामीले हरुवा चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू ? मेरा विरुद्धमा खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुहोस्। हरुवा, चरुवा वृद्राश्रममा जाने बाजे बजैलाई घरमा गएर आफ्ना नाति-नतिनालाई खेलाएर बस्न भन्नुहोस्। तर राष्ट्रिय सभालाई हामी युवाहरुको र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस् ।'