काठमाडौँ । टिकटकले अमेरिकी सर्वोच्च अदालतमा प्रतिबन्ध हटाउन निवेदन दिएको छ ।
अमेरिकाले जनवरी १९ मा चिनियाँ लगानीमा रहेको टिकटकलाई प्रतिबन्ध लगाउदै छ । अमेरिकाले जनवरी १९ सम्म टिकटकलाई चिनियाँ लगानीकर्ताबाट अलग गर्न वा प्रतिबन्ध झेल्न अल्टिमेटम दिएको छ ।
अब टिकटकले अमेरिकी सर्वोच्च अदालतमा १७ करोडभन्दा बढीको अभिव्यक्ति स्वतन्त्रताको उलंघन भएको भन्दै निवेदन दिएको हो ।
अमेरिकाले गतबर्ष यस सम्बन्धि कानुन बनाएको थियो । यस अघि तल्लो अदालतले सरकारको निर्णय सहि भएको फैसला दिएपछि टिकटक सर्वोच्च गएको बताइएको छ । यो टिकटकको अमेरिकामा अहिलेको अवस्थामा संचालन गर्न अन्तिम प्रयास भएको बताइएको छ ।
यस अघि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो शपथअघि टिकटक बारे कुनै निर्णय लिने विषय रोक्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
टिकटकको हाल मालिक चिनियाँ बाइटडान्सले आफ्नो शेयर बिक्री नगरेमा जनवरी १९ देखि अमेरिकामा प्रतिबन्ध लाग्ने सरकारले यस अघि नै निर्णय गरिसकेकाले सर्वोच्च अदालतले केहि दिनमै यस विषयमा निर्णय दिने बताइएको छ ।
अमेरिकी काँग्रेसले गत वर्ष डेमोक्रेटिक र रिपब्लिकन दुवै दलको समर्थनमा टिकटक विरुद्ध कानून पारित गरेको थियो ।
टिकटक पहिले नै बेलायतसहित धेरै देशहरूमा सरकारी उपकरणहरूबाट प्रतिबन्धित छ भने भारतसहित केही देशहरूमा यसले थप पूर्ण प्रतिबन्धको सामना गरिरहेको छ ।