काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्बन्धमा अप्रत्यक्ष वार्ता सुरु हुँदा गाजामा प्यालेस्टिनी समूह हमासले इजरायली बन्धकको भिडियो जारी गरेको छ ।
इजरायल र हमासबीच कतारमा फेरि वार्ता सुरु भएको छ । यसैबीच हमासले १९ वर्षीय इजरायली बन्धक लिरी अल्बागको एउटा भिडियो सार्वजनिक गरेको छ, जसमा लिरीले इजरायली सरकारसँग सम्झौतामा पुग्न आग्रह गरेकी छन् ।
हमासले अक्टोबर २०२३ मा गाजा सिमानामा रहेको नहल ओज आर्मी बेसबाट लिरी र अन्य ६ जना भर्ती भएका महिला सिपाहीहरूलाई कब्जामा लिएको थियो । तीमध्ये पाँच अझै पनि हमासको नियन्त्रणमा छन् ।
इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो । यस विषयमा कतारमा वार्ता गर्ने तयारी गरिएको छ ।
लिरी अलिबागको भिडियो उनका अभिभावकले हेरेका छन् । यो भिडियो हेरेपछि आफ्नो मन चकनाचुर भएको बताएका छन् । उनीहरुले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजामा आफ्ना छोराछोरीहरू छन् भन्ने कुरालाई ध्यानमा राखेर निर्णय लिन अपील गरेका छन् ।
इजरायलमा बन्धक परिवारहरूको प्रतिनिधित्व गर्ने फोरम फर फेमिलीज अफ होस्टेज एन्ड द मिसिङले लिरीको बाँचेको भिडियो सबै बन्धकहरूलाई घर फिर्ता गर्न जरुरीताको कडा र निर्विवाद प्रमाण भएको बताएको थियो ।
लिरी अल्बागका अभिभावकसँग फोनमा कुरा गर्दै इजरायली राष्ट्रपति इसाक हर्जोगले सबै बन्धकहरूलाई स्वदेश फिर्ता नगरेसम्म देशको प्रतिनिधिमण्डल वार्ताको टेबलमा रहने बताए ।
इजरायली अधिकारीहरूले यसअघि यस्ता भिडियोहरू सार्वजनिक गरेर हमासले एक प्रकारको मनोवैज्ञानिक युद्ध लडिरहेको बताएका थिए ।