• २०८१ कार्तिक ३ शनिबार

हमास र गाजा युद्ध अब के हुन्छ ?

kharibot

काठमाडौँ । इजरायलले गाजामा आफ्नो सबैभन्दा ठूलो शत्रु याह्या सिनवारलाई मारेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासका तीन लडाकुहरूलाई मारेको थियो, जसमध्ये एक याह्या सिनवार थिए । सिनवारको मृत्युको हमासले पनि पुष्टि गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको घातक हमलाको नेतृत्व सिनवारले नै गरेका थिए, जसमा करिब १२०० मानिस मारिएका थिए र करिब २५० जनालाई बन्धक बनाएका थिए । यो हमलापछि इजरायलले सिनवारको खोजी गरिरहेको थियो र अहिले सिनवारलाई मारेर ‘मिशन सफलता’ घोषणा गरेको छ ।

यसै वर्ष जुलाईको अन्त्यमा हमासका तत्कालीन प्रमुख इस्माइल हानियाको इरानमा हत्या भएको थियो । करिब साढे दुई महिनामा इजरायलले हमासका नयाँ प्रमुख सिनवारलाई पनि मारेको छ । शीर्ष विश्व नेताहरूले सिनवारको मृत्युले युद्धको चाँडो अन्त्य गर्ने आशा व्यक्त गरे पनि इजरायलले यो गाजा युद्धको अन्त्य नभएर अन्त्यको सुरुवात भएको बताएको छ।

इजरायली सेनाले हमासका नेता याह्या सिनवार बुधबार दक्षिणी गाजामा मारिएको बताएको हो । सिनवारलाई इजरायली सेनाले कब्जा गरेको थाहा थिएन । इजरायली सेनाले ड्रोन फुटेज पनि जारी गरेको छ, जसमा सिनवार आफ्नो मृत्यु हुनु अघि भग्नावशेष भवनमा घाइते भएको देखाइएको छ । कपडाले अनुहार छोपेर कुर्सीमा बसेका सिनवारले ड्रोनमा वस्तु फ्याँक्न खोजेको देखिन्छ ।

याह्या सिनवार गाजा पट्टीमा हमासका शीर्ष नेता थिए । सिनवारलाई गाजाको सबैभन्दा शक्तिशाली नेता मानिन्थ्यो । उनी पनि इजरायलले जेलमा परेका थिए र लगभग २४ वर्ष जेलमा बिताए । इजरायली सिपाही गिलाड शालितको सट्टामा २०१७ मा प्यालेस्टिनी बन्दीहरूलाई इजरायली जेलबाट रिहा गरियो, जसमध्ये याह्या सिनवार पनि थिए । सिनवार इरानको नजिक थिए र कट्टरपन्थी समूह हमासको नेतृत्व गर्थे । सिनवार इजरायलले हटाउन खोजेका व्यक्तिहरूको सूचीको शीर्षमा थिए ।

गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाइएको थियो । इजरायलमा आक्रमण गर्ने हमास समूहको नेतृत्व सिनवारले नै गरेका थिए । जुलाईको अन्त्यमा इरानको राजधानी तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको हत्या भएको थियो । यसपछि हमासले सिनवारलाई आफ्नो प्रमुख नेता चुनेको थियो ।

हमास प्रमुख सिनवार भिडन्तमा मारिएका हुन् । उनी सुरक्षाको लागि भूमिगत सुरुङबाट भाग्न खोज्दा मारिएको इजरायली सेनाले बताएको छ । दक्षिणी गाजाको ताल अल-सुल्तान क्षेत्रमा खोजी गरिरहेका पैदल सेनाहरूले उनलाई फेला पारेका थिए ।

अल सुल्तान क्षेत्रमा हमाससँग सम्बन्धित महत्वपूर्ण व्यक्तिहरू रहेको सेनाको विश्वास थियो । सिपाहीहरूले तीन संदिग्ध लडाकुहरूलाई भवनहरू बीचमा हिँडिरहेको देखे र उनीहरूमाथि गोली हाने । त्यसपछि गोलीबारी सुरु भयो र त्यही क्रममा सिनवार भत्किएको भवनमा भागे । इजरायली सञ्चारमाध्यमका अनुसार भवनमा ट्याङ्कको गोला र मिसाइल प्रहार गरिएको थियो । सैनिकहरू भत्किएको भवनमा प्रवेश गरे र सिनवारले भाग्न खोज्दा इजरायली सेनाले उनलाई गोली हानेर मारे ।

सिनवारबाट एउटा हतियार, फ्ल्याक ज्याकेट र ४० हजार शेकेल बरामद भएको छ । इजरायलले डीएनए परीक्षण जस्ता थप अनुसन्धानपछि हमास प्रमुखको मृत्यु भएको पुष्टि गरेको बताएको छ । 

न्युयोर्क टाइम्सका अनुसार सिनवारलाई प्रशिक्षार्थी स्क्वाड कमाण्डरहरूको एक इकाईले मारेको थियो । उक्त क्षेत्रमा नियमित अपरेशनका क्रममा यी कमाण्डरहरू अचानक उनीमाथि आइपुगेका थिए ।

रिपोर्टका अनुसार, आफ्नो जीवनको अन्तिम महिनाहरूमा, सिनवारले टेलिफोन र अन्य सञ्चार उपकरणहरू प्रयोग गर्न छोडेका थिए । हमास नेताले यी उपकरणहरूले इजरायली गुप्तचर एजेन्सीहरूले उनलाई पत्ता लगाउन सहयोग हुने कारणले ति उपकरणको प्रयोग छोडेका थिए । उनी विगत दुई दशकमा हमासले गाजा मुनि खनेको सुरुङको विशाल नेटवर्कमा लुकेको भनिएको थियो । यद्यपि, युद्धको समयमा, इजरायली सैनिकहरूले ती धेरै सुरुङहरू पत्ता लगाएक थिए ।

हमासका नयाँ प्रमुख सिनवारको मृत्युलाई संगठनका लागि अर्को ठूलो धक्का मानिएको छ । यसअघि जुलाई ३१ मा इरानका राष्ट्रपतिको सपथ ग्रहण समारोहमा सहभागी हुन तेहरान गएका हमासका तत्कालीन प्रमुख इस्माइल हानियाको इरानमा हत्या भएको थियो । उक्त समूहका सैन्य कमाण्डर मोहम्मद दाइफ पनि जुलाई १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए । सिनवारको स्थानमा कसले लिने भन्ने टुंगो छैन ।

हमासका धेरै महत्त्वपूर्ण नेता र सिनवारका प्रमुख सहयोगीहरू पनि पछिल्ला केही वर्षहरूमा मारिएका छन् । अहिले सबैभन्दा देखिने नेता खालेद मेसल हुन् र उनी अझै पनि हमासका जीवित अनुहारहरूमध्ये सबैभन्दा प्रमुख हुन् । मेशाल हमासका संस्थापक सदस्यहरूमध्ये एक हुन् र सन् १९९६ देखि २०१७ सम्म हमासको राजनीतिक शाखाको प्रमुख थिए । २०१७ मा, खालेद मेशालको स्थानमा इस्माइल हानिया आएका थिए जसको अहिले मृत्यु भएको छ । मेशाल हाल कतारमा बस्छन् । हमासले आफ्नो पोलिटब्युरोबाट युवा अनुहार छनोट गर्न सक्ने रिपोर्टहरू पनि दावी गरिएको छ । हमासको पोलिटब्युरो प्रमुख निर्णय गर्ने शाखा हो ।

यो कारबाहीपछि विश्व नेताहरूले गाजा युद्ध अन्त्य होस् भन्ने आशा राखे पनि त्यसो हुने संकेत भने देखिदैन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले गाजामा युद्ध अन्त्य गर्ने अवसर आएको बताएका छन् । यसबाहेक अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले साउदी अरेबिया र कतारमा रहेका आफ्ना समकक्षीसँग फोन वार्ता गरेका छन् । सो क्रममा सिनवारको मृत्यु र द्वन्द्व अन्त्य गर्न र बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने प्रयासबारे छलफल भएको थियो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिनवारको मृत्युलाई टर्निङ प्वाइन्टको रूपमा व्याख्या गरेका छन्। इटालियन विदेशमन्त्री एन्टोनियो ताजानीले पनि हमासका शीर्ष नेताको मृत्युले युद्धविराम हुने आशा व्यक्त गरेका छन्।

यद्यपि, शीर्ष इजरायली नेताहरूका टिप्पणीहरूले सिनवारको मृत्युले युद्धको द्रुत अन्त्य ल्याउने विश्वभरका नेताहरूको आशालाई ध्वस्त पारेको देखिन्छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने विश्वका नेताहरुको अपेक्षा विपरित सिनवारको मृत्यु आफुहरुको ठुलो बदला भएको भएपनि युद्ध जारी रहने बताएका छन् । उनले यो गाजामा युद्धको अन्त्य नभएको बताउदै अन्त्यको सुरुवात भएको बताएका छन् । नेतान्याहुले हमासले आफ्नो हतियार राख्छ र हाम्रा बन्धकहरूलाई फिर्ता गर्छ भने मात्र यो युद्ध अन्त्य हुने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै