गोरखा । नेपाली सेनाको टोली गोरखादेखि काठमाडौंसम्मको ‘एकीकरण पदयात्रा’मा निस्किएको छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका पैदलमार्गमा ब्यान्ड सहित परम्परागत पोसाक लगाएका शार्दुलजंग गुल्मका सेना सहितका टोली आइतबार बिहान गोरखा दरबारबाट काठमाडौं हनुमानढोका दरबारसम्मका लागि हिँडेको हो ।
पदयात्राका सहभागी सैनिकलाई पश्चिम पृतनापति उपरथी मधुकरसिंह कार्की र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च, नेपालको झन्डा र नेपाली सेनाका स्थापनकालका प्रथम ६ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज) को झन्डा हस्तान्तरण गरेका थिए ।
गोरखास्थित रणसिंह दल गणको पल्टन, ब्यान्ड सहित पदयात्रामा सहभागी छन् । पदयात्राका क्रममा पृथ्वीनारायण शाहले एकीकरणका क्रममा प्रयोग गरेको मार्ग गोरखा दरबार, जोर चौतारी, ताप्ले, अश्राङ, बोर्लाङ, बुंकोटघाट हुँदै धादिङ जिल्ला पुगेर सेनाको शिवदल गणलाई झन्डा र टर्च हस्तान्तरण गर्नेछ । त्यस्तै धादिङको शिवदल गणले नुवाकोटको शेर गणलाई र नुवाकोटले काठमाडौंस्थित कालीध्वज गणलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
पदयात्रा पुस २६ मा काठमाडौं पुग्नेछ । गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा विसं २०७४ सालबाट नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्म एकीकरण पदयात्रा गर्दै आएको छ ।