• २०८१ पौष २३ मंगलबार

भक्तपुर महोत्सव गरिदै

kharibot

भक्तपुर । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने भएको छ । 

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भक्तपुर महोत्सवबारे पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताए ।

प्रमुख प्रजापतिले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैया बजेट बिनियोजन गरिएको बताउदै महोत्सवबाट रु. ६० लाख आम्दानी हुने अनुमान गरिएको बताए ।

भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यसहित महोत्सवको आयोजना भएको उनले बताए ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको अर्को उद्देश्य हो भन्दै उनले भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने नीति पनि रहेको सोही क्रममा बताइयो ।

भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको बताउँदै भक्तपुर महोत्सव अतिथि सत्कार समिति संयोजक एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताइन् । 

२०५४ सालको भक्तपुर महोत्सवपछिको भव्य महोत्सवको रुपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुने बताउँदै उनले सिंगो नगरलाई उत्सवमय बनाउन विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुबाट आवश्यक प्रचारप्रसारमार्फत विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो । उनले २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्य रुपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउदै महोत्सवको लोगो र स्टिकर नेपालभाषा, नेपालीभाषा र अंग्रेजी गरी तीनवटा भाषा प्रकाशन भएको अवगत गराए ।

उनले आजबाट विधिवत रुपमा भक्तपुर महोत्सव सचिवालयको काम थालनी हुने बताउदै महोत्सवमा ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने बताउदै महोत्सवकै अवसर पारेर भक्तपुर नपाले स्मारिका र फोटो पुस्तक प्रदर्शनको तयारी गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै