• २०८१ चैत ८ शुक्रबार

पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरुलाई प्रताडित गरियो- परिसंघ

kharibot

काठमाडौँ ।  नेपाल उद्योग परिसंघले अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

विहिबार एक विज्ञप्ति जारी गर्दै परिसंघले उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको बताएको छ ।

सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनाएको परिसंघले बताएको छ । 

मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरी उद्योगहरुमा लोडसेडिङ्ग गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ? भन्ने प्रश्न उठेको परिसंघले आशंका गरेको छ ।

विद्युत कुनै पनि उद्योगहरुका लागि कच्चा पदार्थ हो भन्दै परिसंघले कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नहुने उल्लेख गरेको छ । यस अघि पनि उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भिर असर परेको परिसंघले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै