काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता सम्पन्न भएको केहि समयमै रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण गरेका छन्, जसले गर्दा दुवै देशको पूर्वाधारमा क्षति पुगेको छ ।
यी आक्रमणहरू पुटिनले ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्ताव अस्वीकार गरेपछि भएका हुन्, यद्यपि उनी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातभर गरिएको आक्रमणमा रुसले सुमीको अस्पताल सहित नागरिक पूर्वाधारलाई निशाना बनाएको बताएका छन् । अर्कोतर्फ, युक्रेनको आक्रमणका कारण दक्षिणी रुसमा २० वर्ग किलोमिटरको दायरा भएको तेल डिपोमा आगलागी भएको छ । ट्याङ्कीहरू बीचको पाइपलाइनमा क्षति पुगेको थियो । आगो निभाउन सयौं ग्निनियन्त्रकहरू खटिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
रुसी रक्षा मन्त्रालयले युक्रेनबाट प्रहार गरिएका ५७ वटा ड्रोन खसालेको बताएको छ ।
यसैबीच, अमेरिकी राजदूत स्टिभ विटकफले आइतबार साउदी अरेबियामा युक्रेनको बारेमा वार्ता जारी रहने बताएका छन् । फोन वार्ताका क्रममा पुटिन र ट्रम्पले आज युक्रेन र रुसले १७५-१७५ कैदी आदानप्रदान गर्ने कुरामा पनि सहमति जनाएका थिए ।