काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा दिपक थापा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
महानिरीक्षक वसन्त कुँवर सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएकाले सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । थापाले हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए ।
महानिरीक्षकका लागि थापासहित एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा रहेका थिए । तिनै जना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेपनि सरकारले पहिलो वरियतामा रहेका थापालाई नै महानिरीक्षक बनाएको छ ।
३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।