• २०८१ चैत ५ मंगलबार

स्वास्थ्य मन्त्रालयको चैत्र महिनामा संघीय अस्पताल सुधारका १८ कार्यक्रम सार्बजनिक

kharibot

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिंदै आएका छन् । सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन् । सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. रोशन देवकोटाले बताए ।
मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार आदि छन् ।

मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ ।

वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने छन् ।

भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत्र दोश्रो साताभित्र आरम्भ गर्नेछ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेश्रो साताभित्र आरम्भ गर्नेछ ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शैय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसुती अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ ।

तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले चैत्र दोश्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ ।

डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना शंकलन सेवा चैत्र तेश्रो साताभित्र शुरु हुनेछ ।

नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेश्रो साताभित्र थाल्ने तयारी गरेको छ ।

भेरी अस्पतालले भने १० आइसीयु शैय थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ ।

चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै