काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भ्वाइस अफ अमेरिका' लाई प्रदान गरिने कोषमा ठूलो मात्रामा कटौती गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
ह्वाइट हाउसले यो आदेशले करदाताहरूले अब 'कट्टरपन्थी प्रचार' मा पैसा खर्च गर्नु नपर्ने कुरा सुनिश्चित गर्ने बताएको छ । यस आदेशमा राजनीतिज्ञ र दक्षिणपन्थी मिडियाका बयानहरू पनि समावेश छन् जसले पहिले प्रसारकको आलोचना गरेका थिए ।
'भ्वाइस अफ अमेरिका' मुख्यतया एक रेडियो सेवा हो । यो दोस्रो विश्वयुद्धको समयमा नाजी प्रचारसँग लड्ने उद्देश्यले स्थापित भएको थियो । प्रसारकका अनुसार अहिले पनि लाखौं मानिसहरूले भ्वाइस अफ अमेरिका सुन्ने गरेको बताउछ ।
भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले उनी र उनका लगभग १३ सय कर्मचारीहरूलाई तलबी बिदामा पठाइएको बताएका छन् । अब्रामोविट्जले यो आदेशले भ्वाइस अफ अमेरिकालाई आफ्नो कार्यक्रमहरू प्रसारण गर्नबाट रोक लगाएको जानकारी दिएका छन् ।
अमेरिकी पत्रकारहरूको ठूलो समूह, नेशनल प्रेस क्लबले यो आदेश स्वतन्त्र प्रेसप्रति अमेरिकाको लामो समयदेखिको प्रतिबद्धतामाथि प्रहार हुने बताएको छ ।
राष्ट्रपति ट्रम्पको आदेशले भ्वाइस अफ अमेरिकाको मातृ कम्पनी, यूएस एजेन्सी फर ग्लोबल मिडियालाई लक्षित गरेको छ । यूएस एजेन्सी फर ग्लोबल मिडियाले रेडियो फ्री युरोप र रेडियो फ्री एशिया जस्ता गैर-नाफामुखी संस्थाहरूलाई पनि आर्थिक सहयोग गर्छ, जुन मुख्यतया साम्यवादको विरोध गर्न सिर्जना गरिएको हो ।
आदेशमा प्रबन्धकहरूलाई आफ्नो कार्यभार घटाउन र कानूनद्वारा आवश्यक न्यूनतम स्तरमा उपस्थिति राख्न भनिएको छ ।