काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर संसद सचिवालय पुगेका छन् ।
लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्दै निवेदन दिदै छन् ।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले पुस ८ गते लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको थियो ।
संसद सचिवालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ मा 'प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन भएको मानिने व्यवस्था अनुसार लामिछानेको सांसद पद निलम्बन गरेको जानकारी दिएको थियो ।