काठमाडौँ । दक्षिण अमेरिकी देश कोलम्बियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पालना गर्न अस्वीकार गरेको छ ।
अमेरिकाले पठाएका अवैध आप्रवासी बोकेका विमानलाई अवतरण गर्न अनुमति नदिएपछि आक्रोशित ट्रम्पले कोलम्बियाविरुद्ध शुल्क, भिसा प्रतिबन्ध र अन्य प्रतिशोधात्मक प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
जनवरी २० मा ४७औं अमेरिकी राष्ट्रपति बनेका ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोको निर्णयले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको टिप्पणी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोशल' मा लेख्दै कोलम्बियाविरुद्ध अतिरिक्त २५ प्रतिशत शुल्क लगाउने देखि भिसा प्रतिबन्ध जस्ता कडा कारबाहीको घोषणा गरेका छन् ।
ट्रम्पले यी केवल प्रारम्भिक कदमहरू भएको बताए । उनले कोलम्बियाली सरकारले जबरजस्ती अमेरिका प्रवेश गर्ने अपराधीहरूलाई स्वीकार गर्ने र देश निकाला गर्ने सन्दर्भमा कानूनको पालना गर्नुपर्ने बताएका छन् । ट्रम्पले कोलम्बियालाई आफ्नो कानुनी दायित्वहरू उल्लङ्घन गर्न नदिने बताएका छन् ।
यसैबीच कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले ट्रम्प प्रशासनले आप्रवासीहरूलाई सम्मान गर्ने प्रोटोकल नबनाएसम्म संयुक्त राज्य अमेरिकाबाट निर्वासित आप्रवासीहरू बोकेका उडानहरू आफ्नो सरकारले स्वीकार नगर्ने बताएका छन् ।
पेट्रोले आप्रवासीहरू अपराधी होइनन् भन्दै उनीहरूलाई त्यही सम्मानका साथ व्यवहार गरिनुपर्ने बताएका छन् ।
चुनावी वाचा पूरा गर्न डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी सरकारले सीमाको सुरक्षा र निर्वासनमा सहयोग गर्न सक्रिय सैन्य बल प्रयोग गरिरहेको छ । वायुसेनाको दुईवटा सी-१७ कार्गो विमान शुक्रबार बिहान ग्वाटेमाला आइपुगेका छन् । यसबाहेक, १९३ जना आप्रवासीलाई पनि दुई विमानमा होन्डुरस पठाइएको थियो ।