• २०८१ पौष २३ मंगलबार

चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी

kharibot

काठमाडौँ । कोरोनाको पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको दाबि गरिएको छ । कोरोना भाइरसजस्तै लक्षण रहेको यस नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस रहेको बताइएको छ । यसलाई आरएनए भाइरस बताइएको छ ।

भाइरसबाट संक्रमित बिरामीहरूमा रुघाखोकी र कोरोनाको जस्तै लक्षण देखा परेको रिपोर्टमा उल्लेख छ । यसको सबैभन्दा बढी असर २ बर्ष भन्दा साना बालबालिकाहरूमा परेको बताइएको छ ।

चाइनाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सिडिसी) का अनुसार यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट हुनु रहेको छ । ह्यूमन मेटान्यूमोवायरस बाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोरोनाको केसहरू पनि रिपोर्ट गरिएको छ । जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ।

यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ । जसमा अस्पताल र श्मशान स्थलमा भीड बढ्दै गएको छ । तर, चीनले भने त्यस्तो कुनै जानकारी दिएको छैन। द स्टारको रिपोर्टका अनुसार सीडीसीले अस्थमा र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी जस्ता रोगबाट पीडित बिरामीहरूमा संक्रमणको जोखिम बढी हुने बताएको छ ।

खोक्दा र हाछ्युँ गर्दा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यदि भाइरसको प्रभाव गम्भीर छ भने यसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। रोयटर्सका अनुसार चीनले यसको सामना गर्न निगरानी प्रणालीको पनि परीक्षण गरिरहेको छ।

ह्यूमन मेटान्यूमोवायरस भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो । एक जना डच अनुसन्धानकर्ताले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकाको नमूनामा यो भाइरस पत्ता लगाएका थिए । तर, यो भाइरस विगत ६ दशकदेखि रहेको बताइन्छ ।

यो भाइरस सबै प्रकारका मौसमी वातावरणमा पाइन्छ तर जाडोमा यसको फैलने जोखिम सबैभन्दा बढी हुन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै