काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसिद्ध रिसोर्ट मार–ए–लागो लगातार चर्चामा छ । ट्रम्प भन्छन्, मेरो रिसोर्ट सम्पूर्ण ब्रह्माण्डको केन्द्र हो । ट्रम्पले चुनाव जितेपछि यहाँ विश्वका शक्तिशाली व्यक्तित्वहरूको आगमन भएको छ । यहाँ हरेक दिन थिम पार्टीहरु भइरहेका छन् ।
दक्षिण फ्लोरिडास्थित ट्रम्पको रिसोर्टको आजीवन सदस्यता शुल्क एक मिलियन डलर रहेको छ । गत अगस्टमा ७ लाख डलरबाट यस क्लबको आजीवन सदस्य शुल्क एक मिलियन पुर्याइएको थियो । यहाँ कार्ड बिना प्रवेश पाउइदैन् । पैसा भए पनि सबैले सदस्यता पाउँदैनन् । यसका लागि, पहिले उनको इतिहास जाँच गरिन्छ । उदाहरणका लागि, बैंक खाता विवरण, सामाजिक स्थिति र पारिवारिक पृष्ठभूमि । मिडिया रिपोर्टका अनुसार हरेक वर्ष विश्वभरबाट ठूलो संख्यामा धनाढ्यहरूले यसको लागि आवेदन दिन्छन्, तर थोरैले मात्र सदस्यता पाउँछन् ।
टेस्लाका सीईओ एलोन मस्क यस रिसोर्टमा आयोजित पार्टीहरूमा नियमित अतिथि हुन्। उनले आफ्नो टेक्सासको बंगला छोडेर यहाँ बस्दै आएका छन् । मस्कका छोराछोरी पनि यहाँ आउने–जाने गर्छन् ।
संसारका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरू दिनहुँ यस रिसोर्टमा आउने गर्छन् । मेटाका संस्थापक मार्क जुकरबर्ग, एप्पलका सीईओ टिम कुक, गुगलका सीईओ सुन्दर पिचाई, अमेजनका सीईओ जेफ बेजोस, गुगलका सह-संस्थापक सर्गेई ब्रिन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र इजरायली प्रधानमन्त्री नेतन्याहुकी पत्नी सारालगायत धेरै सेलिब्रेटीहरू यस रिसोर्टको पार्टीमा पुगेका छन् ।
यस रिसोर्टमा धनी मानिसहरुको आवतजावत देखेर एकजना लगानीकर्ता जेम्स फिस्बाकले यसको आँगनमा लगानी कोष पनि खोलेका छन् । फिस्बाक भन्छन्, जब मैले यहाँ पहिलो पटक स्वास्थ्य सचिव रोबर्ट केनेडीलाई देखेँ, म छक्क परें । अब म यहाँ हरेक दिन धेरै सेलिब्रेटीहरू देख्छु । ट्रम्पको रिसोर्ट साँच्चै पावर हाउस बनेको छ । यहाँबाट ठूलो लगानीको अपेक्षा गरेको छु ।
राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफ्नो दैनिक काम यसै रिसोर्टबाट गरिरहेका छन् भने धेरै जसो विदेशी नेताहरुलाई यसै रिसोर्टमा भेट गरिरहेका छन् ।
नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोह जनवरी २० मा वाशिंगटन डीसीको क्यापिटल भवनमा हुनेछ ।