• २०८१ पौष २३ मंगलबार

स्वीजरल्याण्डमा आजदेखि सार्वजनिक स्थानमा महिलालाई हिजाब वा बुर्का लगाउन प्रतिबन्ध

kharibot

काठमाडौँ । स्वीजरल्याण्डमा आजदेखि सार्वजनिक स्थानमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न महिलालाई प्रतिबन्ध लागु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस कानूनको उल्लंघन गरेमा १००० स्विस फ्र्याङ्क अर्थात् करिब एक लाख ५१ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ ।

सन् २०२१ मा स्विजरल्याण्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानुन बनेको छ, जुन आज अर्थात १ जनवरी २०२५ (नयाँ वर्ष) बाट सुरु हुँदैछ ।

स्वीजरल्याण्ड भन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र बुल्गेरियामा पनि यस सम्बन्धमा कानुन बनेको छ । यो कानुन लागेपछि सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् ।

२०२२ मा, स्वीस संसदको तल्लो सदन राष्ट्रिय काउन्सिलले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनमा मतदान गरेको थियो । यस अवधिमा १५१ सदस्यले पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए । त्यसपछि यस सम्बन्धमा कानुन बनेको थियो ।

यो प्रस्ताव दक्षिणपन्थी स्विस पिपुल्स पार्टीले राखेको थियो, जबकि केन्द्र र ग्रीन पार्टीहरू यसको विरोधमा थिए । कतिपयले यो कानुनले मुस्लिम महिलालाई अनुचित रूपमा लक्षित गरेको बताएका छन् । यस कानूनलाई समर्थन गर्नेहरूले यो सार्वजनिक स्थानहरूमा सांस्कृतिक मूल्य र सुरक्षाको लागि आवश्यक कदम भएको दाबी गर्छन् ।

लुसर्न युनिभर्सिटीले २०२१ मा गरेको अनुसन्धान अनुसार स्वीजरल्याण्डमा सायदै कसैले बुर्का लगाउँछन् । सो अनुसन्धानमा केवल ३० महिलाले मात्र निकाब लगाएको पाइएको थियो । २०२१ मा स्वीजरल्याण्डको ८.६ मिलियन जनसंख्याको लगभग ५ प्रतिशत मात्र मुस्लिम थिए, जसमध्ये अधिकांश टर्की, बोस्निया र कोसोभोका हुन् ।

यसअघि सन् २००९ मा जनमत संग्रहबाट मात्र मिनार निर्माणमा प्रतिबन्ध लगाइएको थियो ।

बुर्का दक्षिण एसियामा प्रचलित छ र युरोपमा निकाब प्रचलित छ। बुर्का एक प्रकारको पर्दा हो, जुन प्रायः अफगानिस्तान र दक्षिण एसियाका मुस्लिम महिलाहरूले लगाउँछन् । बुर्का भनेको एउटै कपडा हो, जसले पूरै शरीर ढाक्छ । यसमा प्राय: अनुहारको छेउमा पातलो जाल मात्र हुन्छ, जसबाट महिलाले बाहिर देख्न सक्छन्।
जहाँ युरोप र खाडी देशहरूमा बुर्काको सट्टा निकाब बढी लोकप्रिय छ । निकाब पनि एक प्रकारको पर्दा हो, जसले सामान्यतया अनुहारको तल्लो आधा भाग मात्र ढाक्छ र आँखा वरपरको क्षेत्र खुला रहन्छ ।

टाउको, कान र घाँटी ढाक्ने स्कार्फलाई हिजाब भनिन्छ, जसमा अनुहार खुला रहन्छ । यो धेरै मुस्लिम देशहरूमा प्रयोग गरिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै