• २०८१ पौष २१ आइतबार

डानी ओल्मोलाई गुमाउदै बार्सिलोना

kharibot

काठमाडौं । स्पेनिस फरवार्ड डानी ओल्मोलाई बार्सिलोनाले गुमाउने देखिएको छ । ओल्मोलाई ला लिगामा दर्ता गर्न बार्सिलोनाले गरेको दोस्रो अपिल पनि खारेज भएको छ । ओल्मोलाई ला लिगामा दर्ता गर्न बार्सिलोनाले गरेको अपिल त्यहाँको स्थानीय अदालतले खारेज गरिदिएको हो ।

बार्सिलोनाले २६ वर्षीय स्पेनिस फरवार्ड ओल्मोलाई जर्मन टोली लाइपजिगबाट अगस्टमा ६० मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, बार्सिलोनाले ला लिगाको पारिश्रमिक सम्बन्धित नियम पूरा गर्न नसकेकाले उनी सिजनको पहिलो हाफका लागि मात्र लिगमा दर्ता भएका थिए ।

गत साता एक अदालतले ओल्मोलाई पुनः दर्ता गर्ने बार्सिलोनाको प्रयासलाई अस्वीकार गरेको थियो । अर्को अदालतले पनि सोही निर्णयलाई सदर गरेपछि बार्सिलोना ओल्मोलाई पुरै सिजन टिममा राख्न असफल भएको हो । ओल्मो अब जनवरी एक देखि बार्सिलोनाबाट खेल्न नपाउने भएका छन् ।

यसैवर्ष स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन महत्वपूर्ण भूमिका खेलेका ओल्मोले यो सिजन बार्सिलोनाका लागि १५ खेलमा ६ गोल गरेका छन् । 

यसैबीच दोस्रो पटक अदालतले बार्सिलोनाको अपिल अस्वीकार गरेपछि अब अन्य विकल्पमा काम गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । बार्सिलोनाले नयाँ बनिरहेको बार्सिलोनाको क्याम्प नेउ स्टेडियमको भिआइपी सिट सय मिलियन युरोमा बेच्ने तयारी गरेको बताइएको छ । सो रकमबाट बार्सिलोनाले ओल्मो र पाउ भेक्टरलाई ला लिगामा दर्ता गर्ने प्रयास गर्ने बताइएको छ ।

अर्कोतर्फ ओल्मो ला लिगामा दर्ता नभएमा इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले उनलाई भित्र्याउन विशेष चासो दिएको बताइएको छ । म्यानचेस्टर युनाइटेडले हाल खराब प्रदर्शनका कारण टिममा नयाँ खेलाडी भित्र्याउने क्रममा ओल्मोलाई विशेष प्राथमिकतामा राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै