• २०८१ पौष १४ आइतबार

सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक ग्रासरुट फुटवल प्रशिक्षण संचालन

kharibot

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भुल हलचोकमा पहिलो पटक ‘ग्रासरुट फुटबल प्रशिक्षण–२०८१’ संचालन भएको छ ।

उक्त प्रशिक्षणको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुस १३ गते ग्रासरुट फुटबलका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक जिवेश पाण्डेलाई फुटबल हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।

महानिरीक्षक अर्यालले ६ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई समेटी अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराई दक्ष एवं अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यकासाथ संचालन गर्न लागिएको ग्रासरुट फुटबल प्रशिक्षण–२०८१ सफलताको लागि हार्दिक शुभकामना व्यक्त  गरे ।

उनले बालवालिकाहरुलाई फुटबल खेल्ने अवसर प्रदान गरी सहभागिता गराउन तथा भविष्यमा समेत उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गरिएको ग्रासरुट फुटबल प्रशिक्षणले बालबालिकाहरुको बौद्धिक, भावनात्मक र शारिरीक विकासमा समेत बृद्धि हुने विश्वास व्यक्त गरे ।

महानिरीक्षक अर्यालले फुटबल खेलमा रुचि राख्ने सम्पूर्ण बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र सर्वसाधारणका सन्ततीहरुलाई अनुभवि प्रशिक्षकद्वारा प्रशिक्षण गराई उत्कृष्ट खेलाडी तयार पार्न ग्रासरुट फुटबल प्रशिक्षण कार्य सफल हुने बताउदै यस कार्यक्रमले सशस्त्र प्रहरी बल नेपाल तथा आम जनमानसमा समन्वयात्मक भावना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले प्रधान कार्यालयको परिषरमा नवनिर्मित बक्सिङ्ग रिङ्गको समेत उद्घाटन गरे । उनले बक्सिङ्ग विधाका खेलाडीहरुलाई प्रशिक्षण कार्यमा सहजताको लागि नेपाल एपीएफ बक्सिङ्ग वेशिक ट्रनिङ रिङ्गको समेत निर्माण गरी प्रशिक्षण गराउन लागिएको  बताए ।

ग्रासरुट फुटबल प्रशिक्षणमा वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुको सन्तती १ सय २९ जना, अमर तथा अवकाशप्राप्त सशस्त्र प्रहरीका सन्तती ४ जना र सर्वसाधारण नागरिकको सन्तती १ सय ३५ गरी कुल २ सय ६८ जना सहभागी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै