• २०८१ पौष ७ आइतबार

एनपीएलमा फ्लप राष्ट्रिय टिमका खेलाडी

kharibot

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) शानदार रुपमा सम्पन्न भएको छ । नेप्ल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको एनपीएललाई दर्शकले दिएको अपार साथले नेपालमा क्रिकेटको क्रेज अझ बढेको र भविष्यमा नेपाली क्रिकेटप्रति नेपाली दर्शकको माया अझ बढ्ने देखिएको छ । हरेक खेलमा दर्शकले देखाएको उपस्थितिले एनपीएलका अन्य सबै पक्षलाई बिर्साएको थियो ।

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको छ । एनपीएलमा ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, बिनोद भण्डारीले उत्कृष्ट ब्याटिंग गरेका छन् भने युवा खेलाडी विपिन शर्मा, किशोर महतो,  रिजन ढकाल, करण केसीले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यी बाहेक एनपीएलमा राष्ट्रिय टिममा लगातार खेलिरहेका प्रमुख खेलाडीको प्रदर्शन भने निराश बनाएको छ । यसमा प्रमुख रुपमा पोखरा एभेन्जर्सका कप्तान रहेका कुशल भुर्तेल एनपीएलमा फ्लप नै रहे । कुशलले ७ खेलमा ६ इनिंगमा केवल ५४ रन बनाए भने ५ विकेट लिए । उनको एक खेलमा सर्बाधिक रन ३१ रहेको छ । राष्ट्रिय टिमका प्रमुख खेलाडी रहेका भुर्तेलको यो प्रदर्शन उनको क्षमताभन्दा निकै तलको रहेको छ, जसको मुल्य पोखराले समेत चुकाएर प्लेअफमा छनौट हुन असफल भएको थियो ।

त्यस्तै यस एनपीएलमा औसतभन्दा तल प्रदर्शन गरेका अर्का खेलाडी हुन् विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने । सन्दीपले ७ खेलमा केवल ६ विकेट लिएका थिए भने ब्याटिंगतर्फ २२ रन बनाएका थिए । नेपालका स्टार स्पीनर रहेका सन्दीप एनपीएलमा फ्लप रहे, जसका कारण विराटनगर प्लेअफमा छनौट हुन असफल भएको थियो ।

त्यस्तै राष्ट्रिय टिमका अलराउण्डर गुलशन झाको प्रदर्शन पनि एनपीएलमा औसतभन्दा तल रह्यो । कर्णाली याक्सबाट एनपीएल खेलेका गुलशनले ९ खेलमा १३२ रन बनाए । जसमा एक खेलमा ४९ रन बनाएका थिए । त्यस्तै ९ खेलमा ४ खेलमा बलिङ गरेका गुलशनले केवल एक विकेट लिएका थिए । 

त्यस्तै राष्ट्रिय टिमका नियमित खेलाडी कुशल मल्लको प्रदर्शन पनि औसत रहेको छ । कुशल मल्लले ८ खेलमा २२३ रन बनाए भने उनले एक खेलमा ७२ रन बनाएका थिए । त्यस्तै उनले ८ खेलमा ९ विकेट लिएका थिए ।

त्यसैगरी राष्ट्रिय टिमका नियमित विकेटकिपर रहेका आसिफ सेखले जनकपुरलाई उपाधि दिलाएपनि उनको व्यक्तिगत प्रदर्शन भने औसत नै रहेको छ । फाइनलको कप्तानी समेत गरेका आसिफले एनपीएलमा १० खेलमा १६२ रन मात्र बनाएका छन् । जसमा आसिफको सर्बाधिक ३६ रन रहेको छ ।

त्यस्तै लुम्बिनीबाट खेलेका सन्दीप जोरा, बिबेक यादव, काठमाडौँ गुर्खाजबाट खेलेका भीम सार्की, कर्णाली याक्सका कप्तान समेत रहेका सोमपाल कामी, बिराटनगरबाट खेलेका प्रतिष जिसी, सुदूरपश्चिमबाट खेलेका अविनाश बोहोरा, पोखराबाट खेलेका सागर ढकाल लगायतका खेलाडीको प्रदर्शन औसतभन्दा तल रहनु राष्टिय टिमको हिसाबले चिन्ताजनक देखिएको छ । एनपीएलको प्रदर्शनले अबको राष्ट्रिय टिममा नयाँ खेलाडीले अवसर पाउने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै