• २०८१ पौष ८ सोमबार

रवि लामिछानेको सांसद पद निलम्बन नगर्न रास्वपाको सभामुख घिमिरेलाई ध्यानाकर्षण

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

सोमबार रास्वपा नेताहरू प्रमुख सचेतक सन्तोष परियार, सांसदहरू गणेश पराजुली र सोबिता गौतम सभामुख घिमिरेको कार्यकक्षमा पुगेर लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् ।

यसअघि आइतबार जिल्ला प्रहरी कार्यालय, कास्कीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र सङ्गठित अपरधमा मुद्दा दर्ता भएको जानकारी गराउँदै सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

प्रमुख सचेतक परियारले कानुनअनुसार लामिछानेको पद निलम्बन हुनुपर्ने हो कि होइन भन्ने ध्यानाकर्षण गराएको बताए । रास्वपा नेताहरुको ध्यानाकर्षणपछि जवाफमा सभामुख घिमिरेले आफू कानुनअनुसार अगाडि बढ्ने बताएका थिए । 

रास्वपा नेताहरूले सम्पत्ति शुद्धीकरण र प्रतिनिधिसभा सञ्चालन नियमावलीलाई गलत व्याख्या गर्दै लामिछानेको संसद पद निलम्बन गर्न लागिएको दाबि गरिरहेका छन् ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा भनिएको छ- 'प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ ।'

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो भने आज जिल्ला अदालत कास्कीमा न्यायाधीशले उनको बयान लिइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै