काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धानको प्रतिवेदन सोमबार पेश हुने भएको छ ।
कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने प्रहरी अधिकृत खरीबोटसँग बताएका छन् ।
सहकारीको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् ।
पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ९० दिनभित्र उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ । जोशी पक्राउ परेको दिनबाटै अन्य ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ भित्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने समय सीमा रहेको छ ।
उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ ।
संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ ।