वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतस्थित सरकारी वकिलको कार्यालयमा झण्डै ४ घण्टा बयान लिइएको छ ।
मंगलबार बिहान ९:१५ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई प्रहरीले लगेको थियो । त्यहाँ सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग झण्डै ४ घण्टा बयान लिएका हुन् ।
मंगलबार बयानका क्रममा लामिछानेलाई १७ वटा प्रश्न सोधिएको छ । त्यसपछि लामिछानेलाई दिउँसो १.३० बजे सरकारी वकिलको कार्यालयबाट फेरि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको छ ।
अब उनीसँग लिखित बयान हुने मुख्य न्यायाधिवक्ता निरौलालले जानकारी दिएका छन् । अब लामिछानेलाई मंगलबार पनि प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा राख्ने र बुधबार मात्रै पोखरा फिर्ता पठाइने बताइएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा कार्तिक २ गतेदखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकमपनि हिनामिना गरेको आरोपमाा अनुसन्धानका लागि सोमबार साँझ वीरगन्ज ल्याइएको थियो ।
सहकारी ठगी प्रकरणमै लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही ,काठमाडौं र चितवनका जिल्ला प्रहरी कार्यालयमा पनि लगिएको थियो। वीरगन्जको सानो पाइला सहकारीमा बचतकर्ताले जम्मा गरेकोमध्ये साढे ८ करोड बढी रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि सोमबार साँझ ५ बजेतिर वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा पुर्याइएका लामिछानेलाई सोमबार रातभर जिल्ला प्रहरी कार्यालयमै राखिएको थियो ।
सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब साढे ८ करोड रुपैयाँ गएको थियो ।
सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडिया नेटकर्वको खातामा सानो पाइलाबाट सात पटक गरी ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो । २०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो । अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए।
एक वर्षअगाडि सानो पाइला सहकारीका १७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए ।