• २०८१ बैशाख २० बिहीबार

इरफान खानलाई कुन दुर्लभ रोग लागेको थियो ?

kharibot

मुम्बई । बलिवुड अभिनेता इरफान खानको अचानक मृत्युले उनका फ्यानहरुलाई स्तब्ध बनाएको छ । ५४ बर्षिय अभिनेताले टेलिभिजन हुदै बलिवुड र हलिवुडका फिल्महरुमा गरेको जीवन्त अभिनयले विश्वभर आफ्ना फ्यान बनाउन सफल भएका थिए । बलिवुडमा 'हिरो' को परम्परागत ट्रेण्डलाई परिवर्तन गर्ने अभिनेताको पहिचान बनाएका इरफान खानलाई कुन रोग लागेको थियो भन्ने कौतुहलता सबैमा देखिएको छ ।

अभिनेता खानले आफु न्युरोएन्ड्रोक्राइन ट्युमरबाट पिडित भएको २०१८ को मार्च ५ मा सामाजिक संजाल ट्वीटरमार्फत बताएका थिए । उनले अभिनेता खानले आफु केहि समयदेखि एउटा दुर्लभ रोगसँग लडिरहेको खुलासा गरेका थिए । उनको रोगको बारेमा अनेक अफवाह फैलिए पछि आफैले सो बारे जानकारी दिएका थिए ।

यो रोग निकै दुर्लभ किसिमको भएको बेलायतको राष्ट्रिय हेल्थ सर्भिस(एनएचएस) ले उल्लेख गरेको छ । एनएचएसका अनुसार यो ट्युमर शरीरका कैयौं अंगहरुमा फैलिने गरेको पाइएको उल्लेख छ । खास गरी यस्तो ट्युमर भएका विरामीहरुमा धेरै जसो आन्द्राहरु सुन्निने गरेको पाइएको उल्लेख छ । यसको सुरुवाती असर रगतका कोसीकाहरुमा पर्ने र विस्तारै यसको असर बढ्दै जाने बताइएको छ ।

यो ट्युमर भएका विरामीहरु शरीरको जुन हिस्सामा भयो त्यस आधारमा नै लक्षण तय हुने एनएचएसले बताएको छ । जस्तै पेटमा भएमा लगातार कब्जियत हुने, फोक्सोमा भएमा श्वास फेर्न गार्हो हुने साथै यो ट्युमर भएपछि ब्लड प्रेशर र सुगर घटबढ भैरहने उल्लेख गरिएको छ ।

यो न्युरोएन्ड्रोक्राइन ट्युमर के कारणले हुन्छ भन्ने अहिलेसम्म कुनै स्पष्ट निष्कर्ष आएको छैन । न्युरोएन्ड्रोक्राइन ट्युमर हुने विविध कारण हुनसक्ने बताइएको छ । तर यो ट्युमर बंशानुगत हुने सम्भावना बढी रहेको बताइएको छ ।

इरफान खानलाई पनि यो दुर्लभ ट्युमर भएपछि उनले लामो समय लन्डनमा उपचार गराएका थिए । २०१९ मा इरफान भारत फर्किएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालमा रुटिन चेकअप र डाक्टरको निगरानीमा रहेका थिए । 
इरफानको बलिवुडमा आखिरी फिल्म अंग्रेजी मिडियम रिलिज भएको छ । उनी उपचार गरेर फर्किएपछि शुटिंग गरेको फिल्म यहि हो ।     

अभिनेता खानले बलिवुडमा एक सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बलिवुडका अलावा हलिवुडमा पनि काम गरेका छन् । लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिंग स्पाइडर म्यानजस्ता सुपर हित फिल्ममा काम गरेका छन् ।

बलिवुडमा २०१३ मा उनले अभिनय गरेको फिल्म पान सिंह तोमारका लागि भारतीय राष्ट्रिय पुरस्कार समेत पाएका थिए ।

इरफानलाई २००३ मा रिलिज भएको फिल्म मकबुल, २०१२ मा रिलिज भएको पानसिंह तोमार, २०१२ मै रिलिज भएको लाइफ अफ पाई, २०१३ मा रिलिज भएको साहेब बीबी और ग्यांगस्टर, २०१३ मै रिलिज भएको लन्च बक्स, २०१५ मा रिलिज भएको तलवार, २०१६ मा रिलिज भएको मदारी, २०१७ मा रिलिज भएको हिन्दी मिडियम, २०१७ मै रिलिज भएको करीब करीब सिंगल, २०१८ मा रिलिज भएको कारवां जस्ता फिल्ममा गरेको जीवन्त अभिनयका लागि दर्शकले सधै सम्झिने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै