• २०८१ पौष १९ शुक्रबार

मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

kharibot

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । पाटन क्षेत्रमा यार्सा सङ्कलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । 

जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्ला भित्रकालाई प्रतिव्यक्ति रु दुई हजार यार्सा सङ्कलन प्रवेश शुल्क निर्धारण गरिएको छ । अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरी लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरिएको छ ।

चैतदेखि पाटनमा यार्सा उम्रिने सुरु हुने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउँका स्थानीय फोन्जुक तामाङले बताए । गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिँदै जाने र यार्साको टुसा माथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ ।

मुगुका पाटन क्षेत्रमा उम्रिने यार्सा सङ्कलन गर्न जिल्ला बाहिर र जिल्लाबासी बर्सेनि वैशाखदेखि असारसम्म पाटन पुग्ने गरेका छन् । छोटो समयमा यार्सा सङ्कलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका गाउँ बस्तीका काम गर्नसक्ने उमेर स्थानीय बुढापाका र बालबच्चा चौपाया बस्तु घरमा छाडेर पाटन उक्लिने गर्दछन् ।

पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन् । गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिकमात्रामा यार्सा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयको अनुमान छ । मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रतिगोटा रु पाँच सयदेखि एक हजारमा बिक्री हुने गरेको छ । यार्सा सङ्कलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउँदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा सङ्कलनको स्वास्थ्य उपचारका लागि खटिने गर्दछन् ।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङ्दाङखोला, छापाखोलालगायत दुई दर्जन पाटनमा बढी यार्सा पाइने गरेको छ । यार्सा टिप्न कार्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्ला बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ र मुस्ताङ, सिन्धुपाल्चोकबाट पनि मान्छे पाटनमा पुग्ने गर्दछन् । 

सङ्कलकबाट यार्सा खरिद गर्न काठमाडौँ, पोखरा, बझाङ, डोल्पाबाट व्यापारी हेलिकप्टरमै पाटनमा आउने गरेका छन् । गत वर्ष लुकिछिपी यार्सा टिप्न पाटन क्षेत्रमा पुगेका तीन जना सङ्कलकको हिउँपहिरोमा परी मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै