काठमाडौँ । पुर्व राष्ट्रपति रामवरण यादवले इआइए र डिपिआर बिना नै निर्माणाधीन मदन भण्डारी राजमार्गले भविस्यमा तराई मरुभुमी बन्ने बताएका छन् ।
नेपाल वातावरण पत्रकार समुहले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. यादवले चुरे उत्खननले वातावरण जोखिममा पर्ने र पुरै मधेशमा त्यसको सिधा असर पर्ने बताएका छन् । उनले भने, “राजमार्गको ५० प्रतिशत छेउछाउ क्रसर उद्योगले भरिएको छ जसले गर्दा पानीको मुहान सुक्दै गएको छ।”
“वि सं २०२८ सालमा सरकार कम्जोर भएर जंगल फडानी सुरु भएको र २०३७ सालमा जंगल सबैको लागि खुला गरिएकोले बन- जंगलको विनाश हुने सुरुवात भएको हो।” उनले भने, “वि सं २०६३ देखि जंगल मास्ने काममा केहि नियन्त्रण भए पनि अहिले राज्यले नै चुरे खण्डमा राजमार्ग बनाएर वातावरण र प्राकृतिक नियमलाई बिथोल्ने काम गरेको छ ।”
उनले आफ्नो वाल्यकालको घटना सम्झिदै भने, “ जब म सानोमा भैसी चराउन जान्थे तब, जाडो महिनामा अलि अलि मात्र कुहिरो लाग्थ्यो, तर अहिले महिनौ सितलहर छाएको छ । यो सबै जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले गर्दा हो । पहिला मानिसहरु जाडो छल्न तराई पुग्थे तर अहिले समय उल्टो छ । तराईमा स्वच्छ पानिको अभाव र सितलहरले गर्दा त्यहाँको बासिन्दा पहाडमा बसाइसराइ गर्दै छन् । यसले देशको एकतामा पनि असर पार्ने उनको भनाई छ ।”
चुरे विनाशले गर्दा अबको पाँच वर्षमा तराईको पानिको मुहान सुक्दै जाने र तराई मरभुमी बन्ने पुर्व राष्ट्रपति यादवले बताए । अन्नको भण्डार तराईलाई पानि दिने मुख्य श्रोत नै चुरे पर्वत रहेकोले तराई संगै पुरै देशमा नै समस्या आउने उनले बताएका छन् । उनले भने, “चुरेको छातीमा डोजर चल्दै छ र तराई मरभुमी बन्दै छ, २०२४ साल सम्म नेपाल विश्वमा धान निर्यात गर्ने राष्ट्रहरुमा पाँचौ स्थानमा थियो तर २०४१ साल पछि नेपालले आयात गर्न थयो, अहिले वर्षेनी अरबौंको धान आयात गर्नुपर्ने स्थिति रहेको छ ।”
नेपाल वातावरण पत्रकार समुहले राजमार्ग निर्माणले पारेको वातावरण प्रभाव अध्ययन प्रतिवेदन अनुसार, मधेशका सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीबाट चुरे पहाड चिर्दै मदन भण्डारी राजमार्ग जोड्ने काम भइरहेको छ र यसले चुरेलाई खतरा बढाउने बताएको छ । विकाशको नाममा सडक निर्माणलाई मुख्य महत्व दिदै चुरेको संवेदनशील भूबनोट, जैविक विविधता, वन जंगलको सुरक्षा तथा वन्यजन्तु कोरिडोर जस्तो वातावरणीय पक्षलाई वेवास्ता गरिएको रिपोर्टमा बताईएको छ ।