बारा । बाराका तपस्वी भनिएका रामबहादुर बम्जनका कारण पटक–पटक चर्चामा आइरहने प्रदेश नम्बर २ को बारा जिल्ला अहिले पुनः चर्चामा आएको छ । निकै चर्चा कमाएका बम्जनबिरुद्ध जिल्ला प्रहरी कार्यालय कलैया बारामा अहिले उजुरी परेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वाका हस्त बहादुर आलेले तीन वर्ष अघि बम्जनसँग लागेका आफ्ना ३४ वर्षीय छोरा सुरेश आले बम्जन आश्रमबाट बेपत्ता भएकोले खोजलाश गरी पाउ भनि जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका हुन् । आलेले दिएको उजुरीमा बम्जनको अनुयायी भएर बसेका छोरा आश्रम स्थलबाटै बेपत्ता बनाईएकाले त्यसको खोजी र सकुशल उद्दार गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रवक्ता प्रहरी नायाब उपरिक्षक रंजित सिंह राठौरले बताए ।
आफूहरुले पटक–पटक छोराको खोजीका लागि आश्रम र बम्जनसँग जोडिएका व्यक्तिसँग भेटेर सोध पुछ गर्दा पनि निजको अवस्था पत्ता नलागे पछि एक्लो छोराको अवस्था पत्ता लगाउँन पिडितले उजुरी दिए पछि तपस्वि भनिएका बम्जन बिवादमा तानिएका छन् ।
बम्जनसँगै बस्दै आएका सुरेश गत विक्रम सम्बत् २०७२ साल जेष्ठ महिना पछि घर आएका छैनन् । भूकम्प पछि एक पटक घर आएका सुरेशलाई बम्जनको नजिक रहेर काम गर्ने जसबहादुर वाईबाले बोलाएर लगेका सुरेशका पिता हस्त बहादुर आलेले बताए । त्यस पछि उनि बेपत्ता छन् । प्रहरीको टोली बम्जनसँगै निजको छोराको खोजीमा लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बम्जनको तपस्या र आश्रय स्थल भनिएको बाराको हल्खोरिया साझेदारी बन अहिले पर्सा बन्यजन्तु राष्ट्रिय निकुन्जको क्षेत्र भित्र पर्दछ । मानव बसोबास गर्न कानुनी रुपमा बन्देज गरिएको त्यस क्षेत्रमा अहिले पनि बम्जन र उनका अनुयायिहरु बस्दै आएका छन् ।
संरक्षित क्षेत्रमा बस्ने उनका अनुयायिहरुलाई भेटेर बम्जन र बेपत्ता भएका सुरेश आले बारे बुझ्न खोज्दा बम्जन हाल सिन्धुली गएको र आश्रममा बस्दै आएको सुरेश आलेको हालको अवस्था बारे आँफूहरुलाई थाहा नभएको बम्जनका अनुयायि मंङ्गल सिंह पाल्देनले बताए ।
करिब १३ वर्ष अघि बम्जन अकस्मात तपस्विको रुपमा बाराको हल्खोरिया साझेदारी बनमा देखा परेका थिए । तपस्विको रुपमा चर्चा कमाएका बम्जनको प्रवचन सुन्न देश बिदेशबाट ठूलो संख्यामा श्रद्धालुहरु आउन थालेपछि उनका अनुयायि पनि बढ्दै गएको र उनलाई लिटल बुद्ध भनेर भगवानका रुपमा पनि केहीले मान्दै आएका छन् ।
तर, गएको चार वर्ष अघि बारामा लाग्ने पन्च वर्षिय मेलामा बली रोक्छु भन्दै प्रचारमा लागेका बम्जन तीन महिनासम्म बेपत्ता भएर अकस्मात त्यही जंगलमा आपत्तिजनक अवस्थामा एक युवतीसँग भेटिएपछि उनी माथिको आस्था कम हुँदै गएको थियो ।
बम्जनमाथि स्लोभाकियाकी मारिची नामकी एक बिदेशी महिलालाई ६ वर्ष अघि तीन महिनासम्म बन्धक बनाएर राखेको आरोप समेत लागेको छ । बिदेशी महिलालाई यौन शोषण गरी आश्रम मै बन्धक बनाएको खबर पाएको जिल्ला प्रहरी कार्यालय बाराले २०६९ सालमा जिल्ला बन कार्यालयको सह्योगमा उक्त महिलाको उद्दार गरी बम्जन र उनका अनुयायि बस्ने हल्खोरिया दह नजिकैको घना जंगल भित्र रहेको उनको आश्रम भत्काएको थियो ।
त्यसपछि उनी त्यस ठाउँमा नियमित रुपमा बस्न छाडेको तर , बेलाबेला जंगलमा आउँने गरेका छन् । हिंसा विरुद्ध प्रवचन दिने बम्जन माथि अहिले सम्म बलात्कार , बन्धक , कुटपिट , बेपत्ता , तरबार प्रहार , किर्ते लगायत थुप्रै आरोप लागि सकेको छ ।
तपस्या भंङ्ग गर्न खोजेको भन्दै एक दशक अघि रतनपुरको एक स्थानीय युवालाई तरवार प्रहार गरे पछि विवादमा मुछिएका बम्जनलाई अहिले बाराका एक व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको छ ।