काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करण शनिबारदेखि सुरु हुदै छ ।
प्रतियोगिता मार्च २२ मा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेलिने पहिलो खेलबाट सुरु हुनेछ । यस वर्ष, ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ, जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् । फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ ।
यसैबीच यस अघि १७ सिजन सम्पन्न भएको आइपीएलका केहि रोचक किर्तिमानको बारेमा चर्चा गरौँ ।
विराट कोहलीको सर्वाधिक रन
रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) का पूर्व कप्तान विराट कोहलीले आफ्नो टोलीका लागि ट्रफी जित्न नसके पनि उनको व्यक्तिगत प्रदर्शनमा कहिल्यै गिरावट आएको छैन । कोहली आईपीएल इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले २००८ देखि २०२४ को आइपिएलसम्म २५२ खेल खेल्दै १३१.९७ को स्ट्राइक रेटमा ८००४ रन बनाएका छन् । त्यस्तै शिखर धवन धेरै रन बनाउने हिसाबले दोस्रो स्थानमा छन्, उनले गत वर्ष मात्र सन्यास लिएका थिए । उनले २२१ खेल खेल्दै ६७६९ रन बनाएका छन् भने रोहित शर्मा ६६२८ रनका साथ तेस्रो स्थानमा छन् ।
चहल सर्वाधिक विकेट लिने बलर
स्टार स्पिनर युजवेन्द्र चहललाई भारतीय टोलीमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहे पनि आइपिएलमा उनको जादु चलिरहेको छ । यसअघि उनले मुम्बई इन्डियन्स, आरसीबी र राजस्थान रोयल्सबाट खेलिसकेका छन् र यस पटक पञ्जाव किंग्सबाट खेल्दै छन् । उनलाई पञ्जावले मेगा अक्सनमा १८ करोड भारुमा किनेको थियो । यी दायाँहाते बलरले आईपीएलमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान आफ्नो नाममा राखेका छन् । उनले १६० खेलमा ७.८४ को इकोनोमीमा अहिलेसम्म २०५ विकेट लिएका छन्।
सबैभन्दा धेरै छक्का प्रहार गर्ने क्रिस गेल
वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान क्रिस गेल आइपीएलमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन् । उनले १४२ खेलमा ३५७ छक्का प्रहार गरेका छन् । 'युनिभर्स बोस' गेल यस लिगमा कोलकोता, पञ्जाव किंग्स र आरसीबीबाट खेलेका तिह्ये । यस सूचीमा रोहित शर्मा (२८०) र विराट कोहली (२७२) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान शिखर धवन
आईपीएल इतिहासमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी शिखर धवनले गत वर्ष सन्यासको घोषणा गरेका थिए । उनी आइपिएलमा सबैभन्दा धेरै चौका प्रहार गर्ने खेलाडी हुन् । उनले २२२ खेलमा ७६४ चौका प्रहार गरेका छन् । यस मामिलामा विराट कोहली दोस्रो स्थानमा छन् । उनले अहिलेसम्म खेलेका २५२ खेलमा ७०५ चौका प्रहार गरिसकेका छन् । उनले आगामी सिजनमा धवनलाई पछाडि छोड्न सक्छन् ।