काठमाडौँ । जारी पीएम कप अन्तर्गत आज सम्पन्न दुई खेलमा कर्णाली प्रदेश र बागमती प्रदेश विजयी भएका छन् ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनले पराजित गरेको छ । कर्णालीले दिएको २१९ रनको लक्ष्य पछाएको कोशी प्रदेश ३५ ओभरमा अल आउट हुदै ९१ रन मै समेटिएको थियो । यस अघि कर्णालीले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २१८ रन बनाएको थियो ।
यो जितपछि कर्णालीको ५ खेलमा २ जित ३ हारसहित ४ अंक भएको छ भने कोशी प्रदेशको ६ खेलमा एक जित र ५ हारसहित २ अंक रहेको छ ।
त्यसैगरी सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको छ । बागमतीले दिएको २८९ रनको लक्ष्य पछाएको गण्डकीले ४४ ओभरमा अल आउट हुदै २१९ रन बनाएको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको बागमतीले इशान पाण्डेको ६९ र विपिन आचार्यको ६३ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रङ बनाएको थियो ।
यो जितपछि बागमती प्रदेशको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ भने गण्डकी प्रदेशको ५ खेलमा एक जित ४ हारसहित २ अंक रहेको छ ।