काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार छैठौं जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
गण्डकी प्रदेशले दिएको ९३ रनको लक्ष्य पछाएको पुलिस क्लबले१६ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । पुलिसको जितमा कप्तान दिपेन्द्र सिंह ऐरीले ५४ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले २३.२ ओभरमै अल आउट हुदै ९२ रन मात्र बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ४८ रन बनाएका थिए ।
गण्डकीको ब्याटिंग लाइन ध्वस्त गर्न पुलिसका बलर ललित राजबंशीले ५ विकेट लिएका थिए । उच्च फर्ममा रहेका ललित चम्केपछि गण्डकीको ब्याटिंग धराशायी भएको थियो । ललितले यस पीएम कपमा ५ वा सो भन्दा बढी विकेट लिएको यो चौथो पटक हो । उनले अहिलेसम्म ६ खेलमा २६ विकेट लिइसकेका छन् । त्यस्तै पुलिस क्लबका बलर गुलशन झाले ४ विकेट लिएका थिए ।
यो जितपछि पुलिस क्लबको ६ खेलमा १२ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै गण्डकीले भने ६ खेलमा पाँचौं हार बेहोरेको छ ।